साहित्य महोत्सवमा गीतसङ्गीतको चर्चा

  भदौ १७, २०८०


पाटन (ललितपुर), १७ भदौ : त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा गीतसङ्गीतका विषयमा छलफल गरिएको छ । ‘गीतमा के भइरहेको छ ?’ सत्रमा गीतकार एसपी कोइराला, उन्नती बोहोरा ‘सिला’ र हर्क साउदले छलफल गर्नुभयो ।

रेडियो नेपालकालीन समयदेखि नै गीत रचना गरिरहनुभएका गीतकार कोइरालाले रेकर्डिङका समयमा खेप्नुपरेका समस्याबारे चर्चा गर्नुभयो । “एउटा गीत रेकर्ड हुँदै थियो । आधातिर पुगेपछि बाँसुरी बजाउनेलाई खोकी लागेपछि उक्त रेकर्ड नै दोहो-याएर गर्नुप-यो”, उहाँले भन्नुभयो, “अहिले गीतसङ्गीतका क्षेत्रमा प्रविधिले निकै परिवर्तन ल्याएको छ ।”

गीत उद्योगका रुपमा विकास हुँदै गएको बताउँदै कोइरालाले पछिल्लो समय धेरै गीतकार बजारमा आएका बताउनुभयो । गीतकारहरु सङ्गठित भएका भन्दै गीतकारको लगानीको प्रतिफल भने सुरक्षित हुन नसकेको उहाँले बताउनुभयो ।

गीतकार उन्नति बोहोरा‘सिला’ले आफूलाई चिनाउने गीत ‘फर्की आऊ शान्ति तिमी’ को प्रसङ्ग स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “तत्कालीन समयमा देशको शान्तिसुरक्षा खलबलिएका बेला यो गीतको रचना गरेको थिए । त्यसपछि धरतीको सन्देश लेखेँ । राष्ट्रियताको गीतले शान्तिको आह्वान गरेको थियो ।” गीत लेख्न गहिरो चिन्तन र साधना चाहिने उहाँले अनुभव साट्नुभयो ।

अहिलेको पुस्तामा लोकप्रिय गीतकार हर्क साउदलाई चिनाउने गीत ‘सुन साइँली’ हो । उहाँले यसलाई २० मिनेटमै तयार गर्नुभएको थियो । “म गीत रचना अगाडि भिडिओका बारेमा बुझ्छु र त्यहिँ भावमा शब्द कोर्छु । एउटा गीत लेख्न छ महिनासम्मको समय पनि लिएको छु”, गीतकार साउदले भन्नुभयो ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।