निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्य : डा कोइराला

  भदौ १४, २०८०

विराटनगर, १३ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निरासा छाएको बताउनुभयो ।

सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको भन्दै नेता कोइरालाले नेपालका सबै पार्टीका नेताले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको बताउनुभयो ।

राजनीति पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिनुभयो । “राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेसा व्यवसाय गर्दा भइगयो नि,” उहाँले भन्नुभयो, “पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र बेथिति बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरण आएका छन् ।”

स्व न्यौपाने कहिल्यै पनि पद र पैसाको पछि नलागेको र आफूले पटकपटक भेट्दा पनि न्यौपानेले पदको कुरा नगरेको नेता कोइरालाले स्मरण गर्नुभयो ।

मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको कार्यक्रममा नेता वसन्त भट्टराई, गोपाल राजभण्डारी, विश्वनाथ रिजाल, हरिनारायण चौधरी, मृदुला कोइराला, जिल्ला सचिव मोदराज घिमिरे, ललित श्रेष्ठलगायतले स्व न्यौपानेको राजनीति र सामाजिक व्यक्त्विका विषयमा चर्चा गर्नुभएको थियो ।

नेविसङ्घ मोरङको संस्थापक सचिव न्यौपाने २०३३ देखि ३६ सालसम्म केन्द्रीय सदस्य हुनुभएको थियो । न्यौपाने वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया