स्वास्थ्यमन्त्रीका सय दिन : निःशुल्क शय्या र उपचारमा जोड

  भदौ १४, २०८०

मनहरी (मकवानपुर), १३ भदौ : बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो सय दिने कामका उपलब्धि र आगामी योजना सार्वजनिक गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सय दिनमा विपन्न असहाय, बेवारिसे बिरामीलाई निःशुल्क शय्या व्यवस्था गर्नुका साथै दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारमा जोड रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको गौरवको योजना विद्यालय नर्सलाई निरन्तरता दिनुका साथै प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख तथा सीमान्तकृत जाति, आश्रममा आश्रित असहाय छ सय ३७ जना नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको मन्त्री जोशीले बताउनुभयो ।

उहाँका अनुसार धुलिखेलको जनस्वास्थ्य प्रयोगशाला चितवनमा विस्तार गर्नुका साथै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत निःशुल्क औषधि स्थानीय तहका स्वास्थ्यचौकीसम्म लगिएको छ । “हामीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८० मन्त्रिपरिषद्बाट पास गरेका छौँ”, मन्त्री जोशीले भन्नुभयो ।

बत्तीस बुँदामा उपलब्धि सार्वजनिक गर्दै मन्त्री जोशीले भन्नुभयो, “अहिले डेङ्गुको जोखिम बढेको छ, सोहीअनुरूप धादिङमा दुई हजार पाँच कीट र जनस्वास्थ्य प्रयोगशालाका साथै अस्पतालहरूमा आठ हजार नौ सय कीट निःशुल्क उपलब्ध गराएका छौँ ।”

उपलब्धिसँगै मन्त्री जोशीले चालु आवमा गरिने योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदूढीकरण कार्यक्रमलाई रु ११ करोड ५२ लाख ५० हजार बजेट राखिनुका साथै स्थानीय तहका स्वास्थ्य संस्था सवलीकरण कार्यक्रमलाई रु १० करोड २२ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

नसर्ने रोगको पहिचानका लागि परीक्षण र परामर्श, क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत, हृदयाघात भएका बिरामीका लागि उपचारमा सहुलियत र मस्तिष्काघात रोग उपचारमा सहुलियत गर्ने कार्यलाई निरन्तरता दिने मन्त्री जोशीले बताउनुभयो ।

थप एक सय १५ वटा विद्यालयमा नर्स राखिनुका साथै आँखा अस्पताल र आयुर्वेद अस्पताललाई थप व्यवस्थित बनाई सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो । एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गरिनुका साथै भान्साघरमा उपलब्ध हुने औषधीय गुण भएका खाद्यपदार्थलाई प्रयोग गरी भान्साघर औषधालय कार्यक्रम सञ्चालन गरिने मन्त्री जोशीले बताउनुभयो ।

प्रदेश जनसङ्ख्या नीति तर्जुमा गर्नुका साथै उपचार व्यवस्थापन निर्देशिका बनाई कार्यान्वयनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ । मन्त्रालयले पछिल्लो समय देखिएको डेङ्गु सङ्क्रमणको महामारीलाई निर्मूल पार्न जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थामार्फत तीव्रगतिमा काम गरिरहेको मन्त्री जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया