धनकुटामा छैटौँ पटक अमेरिकी स्वास्थ्य शिविर

  भदौ १३, २०८०

धनकुटा, १३ भदौ : अमेरिकाको हवाईस्थित अलोहवा मेडिकल मिसनले धनकुटामा छैटौँ पटक बृहत् निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । यस संस्थाले आफ्नै खर्चमा धनकुटामा विसं २०६७, २०६८, २०७०, २०७२ र २०७५ मा शिविर सञ्चालन गरिसकेको छ ।

धनकुटाका समाजसेवीद्वय पुरेन्द्रलाल श्रेष्ठ र रोशेष श्रेष्ठ तथा सल्भ नेपाल धनकुटाको समन्वयमा धनकुटा अस्पतालमा यो पटकको शिविर असोज १ देखि १२ गतेसम्म सञ्चालन गरिने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको उक्त बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोसिल, पायल्स, थाइराड, गाठागुठी, दाँतलगायत एक दर्जनभन्दा बढी रोगको शल्यक्रिया गरिने मूल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिनुभयो ।

बाह्र दिनसम्म सञ्चालन हुने उक्त शिविरमा ४२ जना अमेरिकनसहित विभिन्न देशबाट जनरल सर्जन, गाइनो सर्जन, एनेसथेसिया विज्ञ र मेडिसिन विशेषज्ञ डाक्टरले सेवा दिने प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।

यो शिविर अमेरिकन दक्षता र प्रविधिमा हुने भएकाले सबैका लागि यो एक अवसर भएको उहाँले सबैलाई सहभागी भएर लाभ लिन सुझाव दिनुभयो । मेडिकल मिसनले यसअघि नेपालमा आठ वटा शिविर सञ्चालन गरेकामा धनकुटा–५, लहानमा दुई बृहत् शिविर र नुवाकोटमा दन्त शिविर सञ्चालन गरेको थियो ।

धनकुटामा यसअघि सम्पन्न भएका पाँच वटा बृहत् स्वास्थ्य शिविरमा विभिन्न जिल्लाका १२ हजार तीन सय ९८ जनाले सेवा लिएका थिए । जसमा जटिल शल्यक्रिया सात सय ४६, सामान्य शल्यक्रिया एक हजार एक सय ६८, दन्त सेवा दुई हजार तीन सय चार र कृत्रिम हात ११ जनाले सेवा पाएको आयोजकले जानकारी दिएको छ ।

शिविर व्यवस्थापनका लागि अनुमानित करिब २० लाख रुपैयाँ खर्च हुने आर्थिक व्यवस्थापन उपसमिति संयोजक दोर्ण गुरागाईंले जानकारी दिनुभयो । गत वर्षमा समेत आर्थिक संयोजक रहनुभएका गुरागाईंले यसअघिका शिविरमा नागरिकले प्रत्येक शिविरबाट दुई करोडभन्दा बढीको निःशुल्क शल्यक्रिया उपचार सेवा लिएको जानकारी दिनुभयो ।

शिविर सञ्चालनका लागि २१ सदस्यीय मूल आयोजक समितिसहित १० वटा उपसमिति गठन गरिएको मूल आयोजक समितिका सचिवालय सदस्य तथा उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया