सुन तस्करीको सूचना सङ्कलन गर्न सिआइबीका एसएसपी आचार्य हङकङ प्रस्थान

  भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गर्नुभएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिनुभयो । हङकङबाट ब्रेक शुमा हालेर ६० किलो सात सय १६ ग्राम सुन गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

त्यसको १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीले लिएको थियो । सिआइबीले यही भदौ ८ गते सुनसम्बन्धीका आवश्यक सूचना र जानकारी भए सिआइबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ । आफैँ पनि सुनका विषयमा सूक्ष्म अनुसन्धानमा लागेको सिआइबीले इन्टरपोलको समेत सहयोग माग सिकेको छ ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सिआइबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।

सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ
दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा आज प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज काठमाडौँलगायत स्थानबाट ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरिएका जानकारी दिनुभयो । सुन तस्करी प्रकरणमा उनीहरूसहित पक्राउ पर्ने २५ जना पुगेका छन् ।

उहाँले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भने राहुल महरालाई पक्राउ गरिएको जानकारी दिनुभयो । राहुलले भने आफैँ सिआइबीमा गएकार फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ । गत वर्ष उक्त घटना भएको थियो ।

तपाईको प्रतिक्रिया