प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भवनको शिलान्यास

  भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको काठमाडौँ सामाखुशीमा निर्माण हुने भवनको आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज आयोजित एक कार्यक्रमबीच उक्त भवनको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा उपस्थित नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका महामहिम राजदूत पार्कटेइ योङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्तरुपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुका साथै भवन निर्माण कार्य सुरुआतका लागि भूमि पूजनसमेत गर्नुभएको थियो ।

उक्त अवसरमा राजदूत योङले वर्तमान समयमा बढ्दै गएको साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साइबर ब्युरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा साइबर ब्युरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विज्ञान र प्रविधिका क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतीकारुपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताउनुभयो । सीमित साधन स्रोत एवं पूर्वाधारका बाबजुद साइबर ब्युरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा साइबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि साइबर ब्युरोको संरचना सुदृढीकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरुरी भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासका सन्दर्भमा दूरगामी महत्त्वको प्रारम्भ विन्दुका रुपमा रहने विश्वास व्यक्त गर्नुभयो । सुसज्जित साइबर ब्युरो निर्माण गर्न कोरियाली सरकार, कोइका र कोरियाली जनताको प्रशंसा गर्दै उहाँले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतिकका रुपमा रहने चर्चा गर्नुभयो ।

उक्त कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालका कन्ट्रीडिरेक्टर मोहेन कोङले शुभकामना मन्तव्य व्यक्त गर्दै यस प्रोजेक्टअनुरुप नेपाल प्रहरीको साइबर ब्युरोको स्तरोन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी साइबर अपराध नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न सहजीकरण हुने बताउनुभयो ।

सो अवसरमा साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले स्वागत मन्तव्य व्यक्त तथा भवन निर्माण सम्बन्धमा सङ्क्षिप्त जानकारी प्रस्तुत गर्दै मित्रराष्ट्र गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) द्वारा भवन निर्माण हुन लागेको बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, कोइकाका प्रतिनिधिहरु, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया