‘ललितकला क्षेत्रमा आर्ट ग्यालरीको भूमिका स्थापित गर्नुपर्छ’

  भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : नेपालमा ललितकला क्षेत्रका आर्ट ग्यालरी धेरै छन् । कलाकार आफैँले ग्यालरी स्थापना गरेर व्यावसायिक अभ्यास गरिरहेका छन् । आर्टका जति पनि व्यावसायिक अभ्यास छन्, त्यसमा आर्ट ग्यालरीको भूमिका महत्त्वपूर्ण भए पनि त्यसलाई भने व्यवस्थित गर्न सकिएको छैन ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हालै ग्यालरी सञ्चालकलाई बोलाएर त्यसले ललितकलाको क्षेत्रमा पु¥याएको योगदानबारे जानकारी लिने प्रयास गरेको थियो । उक्त छलफलले ग्यालरीको भूमिका स्थापित गर्दै आवश्यक सुधार जरुरी रहेको निष्कर्ष निकालिएको छ ।

ग्यालरी प्रसस्त भए पनि समग्र कलाको विकासमा पु¥याएको योगदानका बारेमा खास तथ्य छैन । अझ भन्ने हो भने कति ग्यालरी सञ्चालनमा छन् भन्ने कुरासमेत यकिन छैन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ नीतिगतरुपमा गर्नुपर्ने कामलाई पहिचान गरी योजनाबद्ध ढङ्गले अगाडि बढ्न सबैको ज्ञान, विवेक, अनुभवलाई लिएर ललितकलासँग सम्बन्धित सङ्घ संस्था तथा ग्यालरीसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । उहाँले ग्यालरीको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपालमा राणाकालदेखि अहिलेसम्म आएका संस्था कलाकारले नै स्थापना गरेका छन् तर पनि ग्यालरीको भूमिकाका बारेमा भने खासै चर्चा हुने गरेको छैन । नेपाल आर्ट काउन्सिलका महासचिव विकासरत्न धाख्वा प्राइभेट र सरकारी क्षेत्रबीच सहकार्य गरी कला क्षेत्रको विकासका लागि पहल गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

कुनै पनि सङ्घसंस्थाले एउटा कलाकृति किन्नै पर्ने वातावरण बनाउन पनि ग्यालरीको भूमिका हुन्छ । कला पारखीलाई ग्यालरीले त्यो स्थान प्रदान गर्दै आएको छ । ग्यालरीमा दैनिकजसो नै कला प्रदर्शन भइरहेको छ । त्यसबाट कला, सिर्जनाको खरिद बिक्रीका साथै प्रवद्र्धन पनि हुँदै आएको छ ।

अरुपण आर्ट ग्यालरीका सञ्चालक रमेश खनाल कला क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै भएको बताउनुहुन्छ । उहाँ नेपाली कलाकारका विदेशमा विश्वभरि प्रदर्शनी गर्ने वातावरण बनाउनुपर्ने क्युरेटर जन्माउनुपर्ने, सक्रिय र निष्क्रिय ग्यालरी छुट्याई नवीकरण गर्नुपर्नेजस्ता कुरालाई ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ ।

विभिन्न तवरले चलेको संस्था छुट्टाएर एउटा कार्यविधि बनाउनुपर्ने जरुरी देखिएको छ । त्यसलाई डेटा बैंकसँगै जोड्दै नेपालभरि कति सङ्घसंस्था तथा आर्ट ग्यालरी छन् भनेर यकिन आवश्यकता छ । सिर्जना आर्ट ग्यालरीका शरद रञ्जित ठाउँअनुसार संस्था भएको र राष्ट्रियस्तरमा के–कस्ता संस्था छन् पहिचान गरेर अगाडि बढ्न प्रतिष्ठानलाई सुझाव दिनुहुन्छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली नेपालीपनको चित्र भनेर बुझाउन सक्ने अवस्था अहिलेसम्म नभएको बताउनुहुन्छ । उहाँ कला, संस्कृति, वर्गीय, सामाजिक विभेदमा कलाकृति बन्नुपर्नेमा जोड दिँदै १२ वर्षमा कोठामा बसेर बनाएका कलाकृतिले सामाजिक परिवर्तनमा चुनौती दिएको बताउँदै अब त्यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उल्लेख गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया