नेपालपछि अमेरिकामा ‘बगान’ प्रदर्शन

  भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ ।

कलाकारसमेत रहनुभएका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सहर र क्यानाडामा समेत प्रदर्शन तय गरेका छौँ । नेपालमा दर्शकले दिनुभएको प्रतिक्रिया र यहाँ माग भएकाले सानोरूपमा सुरु गरेका छौँ । दर्शकको मागअनुसार सो सङ्ख्या बढ्ने छ ।”

उहाँसँगै अभिनेत्री प्रमिला कार्की र गीतकार सुरेश वाग्ले प्रदर्शनीमा सहभागी भइरहनुभएको छ । चलचित्र र रङगमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसक्नुभएका खनालले यसै चलचित्रमार्फत निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको हो । यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उहाँले बताउनुभयो ।

“मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्गृहीत कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पु¥याउनु पर्छ भन्ने लाग्यो”, निर्देशक खनालले भन्नुभयो, “यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थेँ ।”

आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राख्नुभयो । सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गर्नुभएको छ ।

गीतकार वाग्लेका अनुसार चलचित्र ‘बगान’ मेफिल्ड, ग्रीन्सबोरो, कोलोराडो, टोरोन्टो (क्यानाडा), न्युयोर्क, डलास, ह्युस्टन, अस्टिन, लसएन्जलस, क्यालिफोर्निया, ह्यारिस्वर्ग, एटलान्टालगायतका सहरमा प्रदर्शन हुँदैछ ।

‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समिर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया