थाहा नगरपालिकामा चलचित्र महोत्सव हुँदै

  भदौ १०, २०८०


मनहरी (मकवानपुर), १० भदौ : मकवानपरको थाहा नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि चलचित्र महोत्सव गरिने भएको छ । आगामी मङ्सिर ९ देखि १५ गतेसम्म आयोजना गरिने एकहप्ते महोत्सवमा नेपालका चर्चित कलाकार, निर्माता र निर्देशकको सहभागिता रहने महोत्सवका कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले बताउनुभयोे ।

थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको समन्वय सहयोगमा आयोजना हुने महोत्सवमा सन्देशमूलक चलचित्र प्रदर्शन तथा नगरपालिका भित्रका पर्यटन क्षेत्रबारे जानकारी गराउने उद्देश्य रहेको नगरप्रमुख प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीर कार्यक्रम स्थलमा राखी अवलोकन गराउने र नगरका पर्यटनस्थलका बारेमा छलफल तथा अन्तक्र्रिया गरी नगरलाई चलचित्रको छाँयाङ्कन केन्द्र बनाउने मुख्य उद्देश्य रहेको केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताउनुभयो । महोत्सवका लागि रु ३० लाख खर्च लाग्ने अनुमान गरिएको उहाँको भनाइ थियो ।

यस महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली चलचित्र क्षेत्रलाई छाँयाङ्कनको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेकोे नगरप्रमुख विष्टले बताउनुभयो ।

यस नगरपालिकाका मार्खु, दामन, सिमभञ्ज्याङ, भेडाफार्म, चित्लाङ, बज्रबाराही, कुलेखानी, आग्राको उनिउँचौरलगायत धार्मिक क्षेत्रमा नेपाली तथा भोजपुरी चलचित्र र म्युजिक भिडियो छाँयाङ्कनका लागि आकर्षण बढ्दै आएको छ ।