बारा, ७ भदौ : बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।
बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डिएसपी न्यौपानेले बताउनुभयो । बाँकी चार जनाको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए ।
आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको राससले जनाएको छ ।






