जोहानेसबर्ग, ६ भदौ : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्सका पाँच राष्ट्रले क्लबलाई नयाँ सदस्यका रुपमा विस्तार गर्न तयार रहेको बताएका छन् । ब्रिक्स विश्वका पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरि तयार पारिएको संक्षिप्त रूप हो ।
यस संगठनलाई विस्तार गर्ने आह्वान जोहानेसबर्गमा भएको तीन दिने शिखर सम्मेलनको एजेन्डामा हावी भएको छ । संयुक्त राज्य अमेरिकासँग बढ्दो प्रतिस्पर्धाका बीच चीनले ब्रिक्सलाई द्रूत गतिमा बढाउन खोजिरहेको छ तर समूहको अर्को प्रमुख शक्ति भारत आफ्नो भूराजनीतिक प्रतिद्वन्द्वीको मनसायबाट सतर्क छ । विश्वको जनसङ्ख्याको ४० प्रतिशत र विश्व अर्थतन्त्रको एक चौथाइ हिस्सा ओगटेको ब्रिक्समा सामेल हुन करिब दुई दर्जन देशले औपचारिक रूपमा आवेदन दिएको अधिकारीहरूले बताएका छन् ।
जोहानेसबर्गमा भइरहेको सम्मेलनमा करिब ५० राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहितका ब्रिक्स नेताहरू सहभागी भएका छन् । सम्मेलनमा चीनको तफैबाट राष्ट्रपति सी चिन फिङ, भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलको तर्फबाट राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा र अफ्रिकाका तर्फबाट राष्ट्रपति रामाफोसा सहभागी हुनुहुन्छ भने रूसी राष्ट्रपति भ्लादिर पुटिनले भने उहाँमाथि लगाइएको प्रतिबन्धका कारण सदस्य तथा आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई पर्नसक्ने वैधानिक समस्या जारी युक्रेनविरूद्धको युद्धलाई मध्यनजर राख्दै सम्मेलनलाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्ने बताउनुभएको छ ।
चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “विश्वव्यापी शासनलाई अझ न्यायपूर्ण र समतामूलक बनाउन हाम्रो शक्ति र बुद्धिलाई तन्क्याउनुपर्छ ।” उहाँले यसबाट समूहले थप शक्ति आर्जन गर्ने उहाँको धारणा रहेको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो “हामी समूहलाई विस्तार गर्ने सङ्घारमा उभिएका छौं ।” उहाँले ब्रिक्सको उद्देश्य र भावनासँग अघि बढ्न चाहने सबैलाई प्रक्रियागतरूपमा सामेल गर्न भारत खुला रहेको बताउनुभयो ।
ब्रिक्स ठूला र साना अर्थतन्त्र, प्रजातान्त्रिक र अधिनायकवादी राज्यहरूको भिन्न मिश्रण हो, तर पश्चिमा नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने सामूहिक इच्छा छ । यो समूह सहमतिमा चल्छ र अधिकारीहरूले ब्रिक्स नेताहरूले नयाँ सदस्यहरूलाई स्वीकार गर्ने मापदण्डमा छलफल गरिरहेको बताएका छन् ।






