सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण

  भदौ ०४, २०८०

सुदूरपश्चिम, ४भदौ : सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्बाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बसेको प्रदेशसभाको बैठकको शून्य समयमा भाग लिने प्रदेशसभा सदस्यहरूले बाढी, डुबान र पहिरोबाट क्षति पुगेको ठाउँमा पुनःनिर्माण, जङ्गली हात्तीले निम्त्याइरहेको समस्या समाधान र लम्पी स्किन रोगको रोकथामका लागि प्रभावकारी पहल गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा प्रदेशसभा सदस्य खुशीराम डगौराथारु, खेमादेवी विष्ट, घनश्याम चौधरी, चक्रबहादुर मल्ल, जानकी ऐरबम, जानकीदेवी कुँवर, तुल्सी देवकोटा, बहादुरसिंह थापा, धर्मराज पाठक, विक्रमसिंह धामी, वीरबहादुर थापा, बेलबहादुर रानामगर, मानबहादुर धामी, शिवसिंह ओली, सन्तोषी शर्मा, सुरेन्द्रबहादुर पाल र हिरा सार्कीले भाग लिनुभएको थियो ।

बैठकले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४, पहिलो संशोधन २०७६ सहितलाई संशोधन गर्न नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

उक्त प्रस्तावका प्रस्तावक मानबहादुर धामीले नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पेस गर्नुहुँदा अर्का सदस्य गीताकुमारी चौधरीले समर्थन गर्नुभएको थियो ।

नियमावली संशोधन मस्यौदा समितिमा विक्रमसिंह धामी, प्रकाश रावल, खेमदेवी विष्ट, मानबहादुर धामी, खुशीराम डगौराथारु, डा ताराप्रसाद जोशी, मानबहादुर रावल र सुरेन्द्रबहादुर पाल रहनुभएको छ ।

गत असार ३० गते प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१को बजेट पारित भएयता आज पहिलो पटक सुदूरपश्चिम प्रदेशसभाको बैठक बसेको हो । अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया