काठमाडौँ, ३ भदौ : पन्त स्मृति प्रतिष्ठानले विभिन्न विधामा विशिष्ट योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
सम्मानित एवं पुरस्कृत हुने व्यक्तिमा ‘ओताओडा’ उपन्यासकी लेखिका जानुका खतिवडा (रु २५ हजार), हास्यव्यङ्ग्य विधामा योगदान दिने शैलेन्द्र सिम्खडा (रु ५० हजार), चित्रकला विधामा योगदान दिने रुपक राई (रु २५ हजार), साहित्यिक पत्रकारितामा योगदान दिने ‘शिवपुरी सन्देश’का सम्पादक वियोगी बुढाथोकी (रु ५० हजार), संस्कृति विधामा योगदान दिने शशी थापा पण्डित (रु १५ हजार), नेपाली समालोचना विधामा योगदान दिने प्रा डा भागवत ढकाल (रु १० हजार), सुस्तश्रवण भएर पनि सम्बन्धित संस्थामा विशिष्ट योगदान पु¥याउने कोपिला हुमागाईं (रु १० हजार), बालसाहित्यको क्षेत्रमा योगदान दिने गोपाल पराजुली (रु १० हजार) र विद्यालयस्तरीय बालनृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने सीता बराल (रु १० हजार) रहेका छन् ।
यसैगरी प्रतिष्ठानले विभिन्न विद्यालयका बालबालिकाबाट लेखरचना आह्वान गरेअनुसार प्राप्त भएका रचनामध्ये पद्य विधातर्फ नन्दी माविकी छात्रा मीना तामाङ र गद्य विधातर्फ पशुपति माविकी छात्रा सीता तामाङलाई (जनही पाँच हजार) बालप्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।
साथै प्रतिष्ठानले विभिन्न छात्रछात्राहरुलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । उहाँहरुलाई नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल, पन्त स्मृति प्रतिष्ठानकी अध्यक्ष इन्दु पन्तलगायतले पुरस्कृत गर्नुभएको थियो । सो अवसरमा प्रतिष्ठानको वार्षिक मुखपत्र ‘नवज्योति’ लोकार्पण गरिएको छ ।