भारतको बिहार राज्यमा एक पत्रकारको हत्या

  भदौ ०१, २०८०

नयाँदिल्ली, १ भदौ : भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका समय पत्रकार विमलकुमार यादवको हत्या भएको हो ।

स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा उहाँलाई हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले उहाँको ढोका ढकढक्याएर उहाँलाई नाम उच्चारण गरेरै बोलाएपछि यादवले ढोका खोल्दा उहाँको छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारले भन्नुभयो, “यादवको घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीच, बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

पत्रकारहरूसँग घटनाबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री नितिश कुमारले भन्नुभयो, “यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो । कसरी मानिसलाई यति निर्मम तरिकाले मार्न सक्छ ?”

उहाँले अधिकारीहरूलाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया