परिवर्तनमा सञ्चार माध्यमको योगदान उच्च रहेको छ : मुख्यमन्त्री चौधरी

  भदौ ०१, २०८०

लुम्बिनी, १ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हरेक राजनीतिक परिवर्तनमा सञ्चार माध्यमको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । उहाँले लोकतन्त्रमा सञ्चार माध्यम बलियो भए मात्र सरकार बलियो हुने समेत बताउनुभयो ।

बुटवलमा आजदेखि शुरु भएको प्रादेशिक ‘मिडिया’ सम्मेलनको उद्घाटनत गर्नुहुँदै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन हुने र गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताउनुभयो ।

उहाँले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री चौधरीले मिडिया कमजोर हँुदा सरकार पनि कमजोर हुने भएकाले मिडिया बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले मिडियाको सवलिकरणमा प्रदेश सरकार सधै साथमा रहेको र सरकारको प्राथमिकता पनि विकास तथा समृद्धि भएकाले त्यसमा साथ दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारले वर्षमा दुई लाख जनालाई रोजगारी दिने लक्ष्यसहितको कार्यक्रम ल्याएको र प्रदेशभरी त्यसको सम्भावना रहेको बताउनुभयो । प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तराष्ट्रियस्तरमा पनि छलफल गरेर कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।

लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडिया सहभागी छन् ।

सम्मेलनमा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकार कनकमणि दीक्षित, युवराज घिमिरे, डा बालकृष्ण चापागाईंलगायतले सञ्चार माध्यमले वहुआयामिक चुनौतिको सामना गरिरहेको र यस्ता चुनौतिबाट मिडियालाई पार लगाउन सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया