‘सम्पदा क्षेत्रमा राजनीति नगरौँ’

  भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : प्रतिनिधिसभाका सांसद बिराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताउनुभएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उहाँले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न नदिएको बताउनुभयो ।

आफ्नो दलले सम्पदामा राजनीति नगर्ने स्पष्ट पार्दै उहाँले अरु दललाई पनि यसमा ध्यान दिन आह्वान गर्नुभयो । हनुमानढोकामा प्रत्येकपटक आउँदा नयाँ कुरा भेटिने गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले यस क्षेत्रमा कुँदिएका कलाले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको सुनाउनुभयो । पहिलेका जनप्रतिनिधिले जस्तो सम्पदामा राजनीति नगरी काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ ले देशभरका सम्पदा संरक्षणका लागि उदाहरणीय काम गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले चित्रकलाका माध्यमबाट सम्पदा र संस्कृतिको संरक्षणमा लाग्नुभएका हरिप्रसाद शर्माको चित्रकारिताले हनुमानढोका दरबार क्षेत्रलाई विश्वसामू चिनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ कलाकार शर्माले नेपाल देश भूगोलले सानो भए पनि इतिहास र संस्कृतिका दृष्टिले विशाल रहेको बताउनुभयो । आफ्नो ब्रह्मले देखेका १३ चित्र सङ्ग्रहालयका लागि योगदानस्वरुप दिएको उहाँले कार्यक्रममा सुनाउनुभयो । ती चित्र छ महिनासम्म हनुमानढोका दरबार क्षेत्रमा अस्थायी प्रदर्शनीमा राखिने जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालका सचिव भरतमणि सुवेदीले भक्तपुर र ललितपुर जिल्लाका सम्पदाका तुलनामा काठमाडौँका सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्नुहुँदै अब पुनःनिर्माणमा तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो । पुर्खाले बनाइदिएका सम्पदा जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु पनि चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा अहिले पुनःनिर्माणको चरणमा रहेको जानकारी दिनुभयो । केही सम्पदा अझै पुनःनिर्माण सुरु हुन नसकेको भनाई राख्दै उहाँले आगम्छे घर चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गरिने प्रतिबद्धता जनाउनुभयो । वरिष्ठ कलाकार हरिप्रसाद शर्माका ८८ वटा मुख्य चित्रको पुस्तक प्रकाशन भएपछि मध्यकालको संस्कृतिका धेरै विषयमा थाहा पाउन सकिएको पनि महानिर्देशक प्रधानाङ्गले उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्मारिकाका सम्पादक प्राडा प्रेमकुमार खत्री, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका सदस्य सचिव सन्दीप खनाललगायतले हनुमानढोका दरबार क्षेत्रका सम्पदा र यसको संरक्षणमा भएका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया