धमाधम आउन थाले तिज गीत

  साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : तिज आउन अझै एक महिना बाँकी रहँदा सञ्चार माध्यम र युट्युबहरूमा तिजलक्षित गीत र भिडियो धमाधम आउन थालेका छन् । यस वर्ष साउनमा मलमास परेकाले असोज १ गते मात्र हिन्दु महिलाले मनाउने  तिज पर्व परेको छ । पुरुषोत्तम मासको व्रत सकिँदा नसकिँदै सञ्चार माध्यममा र सामाजिक सञ्जालमा छाउन थालेका तिजका गीतले महिलाहरूमा तिजको रौनक देखिन थालेको छ ।

गायकगायिका र म्युजिक भिडियो निर्माताहरू तिजका गीत बजारमा ल्याउने चटारो बढेको बताउँछन् ।  दिनहुँ जस्तो तिजका गीतका भिडियो बनाउन प्रस्ताव आउन थालेको भिडियो निर्माता एवं निर्देशक कृष्ण रूपाखेती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजार चलेका गायकगायिकाको भाउ यति बेला सुनभन्दा पनि चर्को छ । तिजको लहरमा लहड बनेर आएका गीतहरूको आयु पनि यही एक डेढ महिना रहने हो ।”

यही क्रममा गायिका अञ्जु श्रेष्ठको तिजको लहर बोलको गीत सार्वजनिक भएको छ । गीतमा अञ्जुलाई  बीना भट्टराईले गायनमा साथ दिनुभएकी छ । गीतमा भट्टराईकै शब्द रहेको छ भने सङ्गीत मीन गुरुङको रहेको छ । गीतको एरेन्ज सुदीप सागरले गर्नुभएको हो । गीतको मिक्सिङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ । गीतको भिडियोमा मुख्य दीपाश्री निरौला देखिनुभएकी छ भने स्वयं अञ्जु श्रेष्ठ र बीना भट्टराईको अभिनय रहेको छ । गीतको निर्देशक तथा छायाङ्कन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो । नृत्य निर्देशक सन्तोष राजवाहक र सम्पादन विवेक उप्रेतीको रहेको छ ।

लेखनाथ संवाददाताका अनुसार गायिका अम्बिका भण्डारीले यस वर्ष ‘हो कि होइन जुनकीरी’ बोलको गीत बजारमा ल्याउनुभएको छ । २०६५ सालमा पहिलो पटक तिज गीत सार्वजनिक गर्नुभएकी भण्डारीले समाजका विभिन्न पक्षको चित्रण गरिएको गीत बजारमा ल्याउनुभएको हो ।  

पहिलो वर्षको गीतमा बुवाहरूको पीडा समेटेकी भण्डारीले त्यसपछिका गीतमा आमाका पीडा, विदेश जाने युवाले भोग्नु परेका सास्तीलाई विषय लिएर गीत रचना गर्नुभएको थियो । यसपालिको उहाँको म्युजिक भिडियोले सबै सन्तान विदेशमा हुँदा स्वदेशमा वृद्धवृद्धाले बिताउनुपर्ने कष्टकर जीवन समेटेको छ ।  आर्थिक र अनेक तवरले सङ्कटमा रहेको नेपाली समाजलाई गीतले आशावादी बन्नुपर्ने सन्देश दिएको छ । “अहिलेको समयमा जस्तो सुकै दुःख भए पनि सामना गर्नु पर्छ, दुःखले बाच्न सिकाउँछ,’ गीतकारसमेत रहनुभएकी भण्डारी भन्नुहुन्छ ।” 

गीतमा स्वर र लयसमेत उहाँकै हो । बाँसुरी स्टुडियो पोखराले तयार गरेको म्युजिक भिडियो एरेन्ज दिवश थापामगरले गर्नुभएको छ । पोखरेली माग्ने बुढा (युवराज भण्डारी) ले निर्देशन गरेको भिडियो छायाङ्कन सुशील अधिकारी र सम्पादन युवराज अधिकारीले गर्नुभएको छ । कलाकार धर्मदत्त दाहालको अभिनय रहेको गीतमा कुलमाया क्षेत्री, करुणा भण्डारी, विष्णुमाया पराजुली, सविना सुवेदी, निस्मा थापामगर, रश्मि भण्डारीलगायतले नृत्य गर्नुभएको छ । 

त्यस्तै गायक खुमन अधिकारीको पनि तिजलक्षित ‘जता जता मायाको पाइलो’ बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमका कथा वस्तुमा तयार भएको गीतमा अधिकारी स्वयं र आशा बिसीको स्वर रहेको छ । विक्रमबाबु विश्वकर्माको शब्द रहेको गीतले वास्तविक तिज गीतको तिर्सना मेटाउने दाबी गरिएको छ । यस वर्षको तिजमा गायक अधिकारीका करिब दुई दर्जन तिज गीत बजारमा आएका छन् भने केही आउने क्रममा छन् ।

तपाईको प्रतिक्रिया