नयाँ दिल्ली, ३० साउन : भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।
“अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ,” हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन् ।
हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सशुरु भएदेखि नै भारी वर्षा भइरहेको छ जसले पहिरो, चट्याङ्का कारण ठूलो विनाश निम्त्याएको छ ।
सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेको थियो र भत्किएको थियो र ३० देखि ३५ जना भित्र फसेको विश्वास गरिएको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले बताएका छन् । घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी रहेको छ ।
सरकारले उपलब्ध गराएको विवरण अनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ भने ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।
राज्य आपतकालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यमा ८५७ सडक बन्द गरिएको जनाएको छ ।
भारतको मौसम विभागले मङ्गलबार हिमाचल प्रदेशमा आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।






