लोपोन्मुख प्रजातिका सतिसाल र सादनका वृक्षरोपण

  साउन ३०, २०८०

जानकी (बाँके), ३० साउन : शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै कार्यालयले सतिसालका करिब २५ हजार र सादनको करिब २० हजार बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा वितरण तथा वृक्षरोपण सुरुवात गरेको कार्यालयका सहायक वन अधिकृत सुशील सुवेदीले बताउनुभयो ।

सहायक वन अधिकृत सुवेदीका अनुसार डाँले घाँस, कृषि औजार, फर्निचरका लागि अत्यधिक दोहन तथा हात्ती, चित्तल जस्ता जनावरले यी प्रजातिका घाँस अत्यधिक रुचाउने भएकाले वृक्षरोपण गरिएको हो । यी प्रजातिहरुको संरक्षण गर्न, यिनको प्राकृतिक बासस्थानको बढाइ बंशाणुगत विविधता ल्याउन डिभिजन वन कार्यालय बाँकेले यो वृक्षरोपण गरेको उहाँको भनाइ छ ।

सतिसाल र सादन बाँके जिल्लाको राष्ट्रिय निकुञ्जको कोर क्षेत्र र मुगुवा खोला किनारका क्षेत्रमा मात्र सीमित छ । पहिले प्रशस्त पाइने यो प्रजाति विस्तारै लोपहुँदै गइरहेकोमा डिभिजन वन कार्यालय बाँकेले सो प्रजातिको संरक्षण प्लट स्थापना गरेको सहायक वन अधिकृत सुवेदीले बताउनुभयो ।

यो वर्ष यी दुवै प्रजातिको राम्रो बीउ वर्ष भएका कारण प्रशस्तै बीउ सङ्कलन गरी बिरुवा उत्पादन गरिएको र उत्पादित बिरुवालाई बाँकेको बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिका सम्भावित बासस्थानमा रोपण गरिएको उहाँले बताउनुभयो ।

साथै जाजरकोट, डडेलधुराबाटसमेत यी प्रजातिको माग आइरहेको हुँदा सो स्थानमा पनि यी प्रजातिको बासस्थान विस्तार गरिने योजना रहेको सहायक वन अधिकृत सुवेदीले बताउनुभयो । यी प्रजातिका अलावा सव डिभिजन वन कार्यालयले बकाइनो, शिरिष, सागवान, काभ्रो, अमला, सेतो चन्दनलगायतका उपभोक्ताले माग गरेका बिरुवा करिब एक लाख गोटा उत्पादन गरी वितरण गर्दै आएको छ ।

उत्पादित बिरुवा निजी तथा सार्वजनिक जग्गा, सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र, मध्यवर्ती वन क्षेत्र लगायतमा रोपण गरिएको छ । वन परियोजना तथा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा बिरुवा उत्पादनका गरिएको हो ।

तपाईको प्रतिक्रिया