ललिता निवास प्रकरण : पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान

  साउन २९, २०८०

काठमाडौँ २९ साउन : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको छ ।

सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताउनुभयो ।

विसं २०६९ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो । त्यही निर्णयका विषयमा सिआइबीले उहाँसँग बयान लिएको जनाइएको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उहाँसँग बयान लिएको थियो । केहीअघि सर्वाेच्च अदालतले उक्त प्रकरणमा उच्च र निर्णय तहका व्यक्तिहरुमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

उक्त जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसअघि सिआइबीले पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

अहिलेसम्म २० जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिव, गुठी संस्थान र मालपोत कार्यालयका अधिकारीहरु मुछिएका छन् ।

तपाईको प्रतिक्रिया