मुगु जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँचको अवस्था चिन्ताजनक

  साउन २९, २०८०

मुगु, २९ साउन : मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जिप सोही गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा पुग्दा दिउँसो ४ बजे सडकबाट चिप्लिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जिप सडकबाट अन्दाजी तीन सय मिटर तल मुगु कर्णाली छेउ पुगेको र जिपमा सवार नौजना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक मोहन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पाँच जनाको अवस्था चिन्ताजनक रहेको र दुईको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूको उपचार र मृतकको पोष्टमार्टम गर्न उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित एम्बुलेन्स घटनास्थलतर्फ गए पनि छायाँनाथ रारा नगरपालिका–३ फुली र आँसीधारा गाउँको बीचमा तीन ठाउँमा पहिरो गएकाले टोली अगाडि बढ्न सकेको छैन ।

घटनास्थलबाट घाइते र मृतकहरूलाई आँसीधारा गाउँसम्म जिपमा ल्याइँदै गरेको र फुलीबाट स्ट्रेचरसहित हिँडेको प्रहरीले स्ट्रेचरमा बोकेर फुलीबाट एम्बुलेन्समा राखी जिल्ला अस्पताल मुगुमा ल्याइने पनि प्रनाउ बस्नेतले बताउनुभयो ।

जिपमा सवार अधिकांश हुम्ला जिल्लाका भएको बुझिए पनि उनीहरूको सनाखत हुन सकेको छैन । प्रनाउ बस्नेतले पहिचानभन्दा पनि उद्धारलाई प्रहरीले प्राथमिकता दिएको र जिल्ला अस्पतालमा पुगेपछि सबैको पहिचान एकिन गर्ने जानकारी दिनुभयो ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट तीन घण्टा सडक दूरी रहेको र सडकको अवस्था राम्रो नभएकाले घाइतेहरूलाई राति १०/११ बजेसम्ममा जिल्ला अस्पताल मुगुमा पु¥याउन सकिने प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया