काठमाडौँ, २५ साउन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताउनुभएको छ । नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको ‘क्रस कन्ट्री आर्ट एक्जिविसन’को काठमाडाँैमा आज उद्घाटन गर्दै उहाँले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राख्नुभयो ।
कला प्रदर्शनीमा राखिएका कलाकृतिहरू साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधताअनुसार नै कलाकृतिमा पनि विविधता रहेको बताउनुभयो । “एक देशले अर्को देशलाई, एक जातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रदर्शनीको महत्त्व छ”, उहाँले भन्नुभयो । अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध बिस्तार गर्न पनि प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बङ्गलादेश, पेरु र स्पेन गरी छ देशका ११ जना कलाकारले तयार पारेका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी हुकुम दरबार कमलपोखरीमा तीन दिनसम्म चल्नेछ ।