गायनमा उदाउनुभएका कर्ण

  साउन २१, २०८०

काठमाडौँ, २१ साउन : कर्णराज गिरी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि गायन क्षेत्रमा सक्रिय हुन थाल्नुभएको छ । कुनै समय ट्याक्सी चालक बनेर गायनलाई सपनामा मात्रै बाच्नु भएका गिरी पछिल्लो समय मेला-महोत्सवमा समेत पुग्नुहुन्छ ।

सङ्गीत सिर्जना, शब्द रचना र गायनमा सक्रिय गिरी यस क्षेत्रमा उदाउँदै गर्नुभएको नाम हो । भ्वाइस अफ नेपालको मञ्चबाट उहाँले साङ्गीतिक यात्रा सुरु गर्नुभएको थियो । “एक दशकको सङ्घर्ष पश्चात गायनका विभिन्न विधामा काम गर्न सफल भएको छु”, उहाँले भन्नुभयो, “परिवारमा साइला दाइ बाहेक अन्यको सङ्गीतसँग नाता जोडिएको थिएन् । आफ्नै सङ्घर्षले यहाँसम्म आउन सफल भएको छु ।”

बाल्यकालमा रेडियो नेपाल सुन्दै ‘जति चोट दिन्छौँ देउ मायालु’, ‘हजार आँखा हेर्ने’, ‘पर्खी बसे’ लगायत गीत गुनगुनाउने र अभ्यास गर्ने गरेको गिरीले अनुभव सुनाउनुभयो ।

सर्लाहीबाट काठमाडौँ आएर सङ्गीतको प्रशिक्षणपछि गायनमा सक्रिय हुनुभएका गिरीले आफ्नो सफलता आमासँग साट्न पाउनुभएन् । “भ्वाइसको उत्कृष्ट नौमा हुँदा नै आमाको देहान्त भयो । उहाँले बाख्रा बेचेर पठाउनु भएको केही रकम लिएर काठमाडौँमा सङ्गीतको विद्यार्थी बनेको थिएँ”, गायक गिरीले भन्नुभयो, “पेटका लागि गर्नुपरेको सङ्घर्ष र भोग्नुपरेको सास्तीबाट मुक्त भए पनि साङ्गीतिक क्षेत्रमा भने सङ्घर्ष छँदैछ ।”

उहाँका सुन माकुरी, ह्याङ्ग बनायौँ, भाइरल भयो रे, तिम्रो आँखा गाजलु, गोरू झालेमालेलगायत गीत चर्चित छन् । पछिल्लो समय सार्वजनिक भएको ‘लुकी लुकी’ युट्युबमा दश लाख बढी पटक हेरिसकिएको छ ।

सर्जकका लागि हरेक गीत सिर्जना गर्दा उस्तै मेहनत लाग्ने गायक गिरीको बुझाइ छ । “पछिल्लो गीतको सफलताले गायकको सम्पूर्ण सफलता निर्धारण गर्दैन्, हरेक पटकको सिर्जनाका लागि समान मेहनत आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले गर्ने मेहनतमा कुनै कसर बाँकी राख्दैनौँ ।”

शास्त्रीय गायनका विद्यार्थी रहनुभएका गिरी आजभोली मेला÷महोत्सवलाई लक्षित गर्दै नृत्य गर्ने किसिमका गीतको सिर्जनामा पनि सक्रिय हुनुहुन्छ । “सबै किसिमको गीत गर्नुपर्छ भन्ने लागेर गायनसँगै नाच्ने गीत सिर्जना गरिरहेको छु”, गायक गिरीले भन्नुभयो, “यसले आफुलाई हरेक विधामा परिक्षण पनि गर्दछ ।” एक दशकको सङ्घर्षपछि उहाँले आफ्नो साङ्गीतिक सपनामा ‘उडान’ भर्न थाल्नुभएको छ ।

तपाईको प्रतिक्रिया