साहित्यकार किशोर पहाडीको नागरिक सम्मान

  साउन २०, २०८०

फर्पिङ (काठमाडौँ), २० साउन : वरिष्ठ साहित्यकार किशोर पहाडीको नागरिक सम्मान गरिएको छ । स्रष्टा पहाडीको जन्मस्थान दक्षिणकाली नगरपालिकास्थिति फर्पिङमा शनिबार उहाँको सार्वजनिक सम्मान गरिएको हो । 

दक्षिणकाली नगरपालिकाको वडा नंं. ६ र स्थानीय सुसेली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित सम्मान कार्यक्रममा नगरपालिका अन्य केही वडालगायत विभिन्न दुई दर्जन संस्थाले सर्जक पहाडीको संयुक्तरूपमा सम्मान गरेका हुन् । सर्जक पडाडीसँग उहाँ धर्मपत्नी रुक्मिणी श्रेष्ठको पनि सम्मान गरिएको थियो ।

विसं. २०२८ सालमा नयाँ सन्देश पत्रिकामा ‘म के जबाफ दिउँ’ कथा प्रकाशन गरी औपचारिक लेखनमा सक्रिय रहनुभएका वरिष्ठ सर्जक पहाडीका कथा, कविता, बालकथाका सङ्ग्रह प्रकाशित छन् भने फुटकररूपमा निबन्ध र नाटक पनि प्रकाशित छन् । 

सर्जक पहाडी विसं.२०३६ सालमा सर्जकहरूद्वारा गरिएको सडक कविता आन्दोलनका नेतृत्वकर्तामध्येका एक हुनुहुन्छ । सो आन्दोलनमा अशेष मल्ल, विधान आचार्य, गोविन्द गिरी प्रेरणालगायतका सर्जकको नेतृत्व रहेको थियो । उक्त पुस्तालाई नेपाली साहित्यमा ‘३० को दशकका कवि’ भनेर चिनिन्छ ।  

वि.स.२०१३ मङ्सिर २४ गते फर्किङमा जन्मनु भएका वरिष्ठ सर्जक पहाडीले सर्वनाम नाट्य समूह स्थापना गरी नेपाली नाटकलाई सडकमा प्रदर्शन गर्ने परम्पराको थालनीमा विशेष योगदान दिनुभएको छ । उहाँले दर्जनौं नाटक, सडक नाटक, टेली शृङ्खलामा अभिनय गर्नुभएको छ । 

सम्मान कार्यक्रमा दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले ‘सिर्जनशील किशोर पहाडी’ नामक पुस्तक विमोचन गर्दै दक्षिणकाली धार्मिक, सांस्कृतिक तथा नासपती र लप्सीले प्रख्यात रहेको उल्लेख गर्दै  साहित्यको उन्नयनमा पालिकाले  विशेष पहल गरी आगामी दिन साहित्य तथा कलाका माध्यमले पनि यस क्षेत्रलाई प्रख्यात बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रमुख बस्नेतले विगतमा साहित्यलाई कम महत्व दिइएछ भन्दै अब साहित्य, कला तथा सङ्गीतको विकासमा यथेष्ट पहल गर्ने बताउनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णविभु घिमिरेले राजनीतिलाई पनि बाटो देखाउने सामथ्र्य साहित्यले राख्दछ भन्दै स्थानीय तहहरूले वाङ्मयको विकासलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । 

वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले आत्मसम्मानका लागि सर्जक पहाडीले युवा मोती  वर्ष पुरस्कार वहिष्कार गर्नुभएको घटना स्मरण गर्दै ‘सर्जक पहाडी आत्मस्वाभिमानमा नडग्ने प्रतिभा हुन्’ भन्नुभयो । 

सम्मानित सर्जक पहाडीले आफ्नो व्यक्तिगत सम्मानभन्दा पनि यस क्षेत्रमा साहित्यको विकासका लागि नगरपालिकले गरेको कार्यको पशंसा गर्दै रमणीय दक्षिणकाली नगरपालिकलाई विशिष्ट पहिचान दिन सर्जकका रूपमा थप योगदान गर्न तयार रहेको बताउनुभयो । 

नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जन्मस्थानमा सर्जकको अभिनन्दन गरेर योगदानको सम्मान गर्ने परम्पराको थालनी गरिएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो । 

नेपाली साहित्याकाशमा किशोर पहाडी एउटा ब्राण्ड हो भन्दै ‘सिर्जनशील किशोर’ पुस्तकका सम्पादक डा. शेखरकुमार श्रेष्ठले  किशोर व्यक्ति मात्र नभएर साहित्यिक अभियन्ता र पथप्रदर्शक पनि हुन् भन्नुभयो । 

सो नगरपालिका वडा नं. ६ का अध्यक्ष शैलेस मानन्धर, सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रलगायतले किशोर पहाडीले आफ्नो लेखनमार्फत दक्षिणकाली र फर्पिङ क्षेत्रलाई मुलुकभित्र मात्र नभएर बाहिर पनि चिनाउन विशेष योगदान दिनुभएको छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया