कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापा नियुक्त

  साउन १६, २०८०

विराटनगर, १६ साउन : कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गर्नुभएको छ ।

नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिनु हुने कार्यक्रम तय भएको जनाइएको छ ।

थापालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का ४७ सांसदको समर्थन रहेको राससले जनाएको छ ।

कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा दिएर सरकार गठन गर्न सहज वातावरण तयार पार्नुभएको थियो ।

कोशी प्रदेश सभामा कायम रहेका ९३ सांसदमध्ये सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ । तर कुनै पनि गठबन्धनले ४७ जना सांसदसहित बहुमत पुर्‍याउन नसकी संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरू सम्मिलित सरकार गठन गर्न समस्या भएपछि सभामुखले पदबाट राजीनामा गर्नुभएको थियो ।

सभामुख गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएकाले राजीनामा पछि उक्त गठबन्धनमा आवश्यक बहुमत पुगेको हो । प्रदेश सभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।

तपाईको प्रतिक्रिया