विराटगनर, १६ साउन : कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः४२ को समयमा सो दाबी पेश गर्नुभएको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनसहित सरकार गठनका लागि दिनुभएको मङ्गलबार साँझ ५ बजेको समयभित्रै थापाले दाबी पेश गर्नुभएको हो ।
मुख्यमन्त्री पदमा थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनाको समर्थनमा दाबी पेश भएको हो । ९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री पदका लागि बहुमत जुटाउन न्यूनतम ४७ सदस्यको समर्थन आवश्यक पर्छ ।
कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु दुई गठबन्धनमा आवद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा दिएर सरकार गठन गर्न सहज वातावरण तयार पार्नुभएको हो ।
कोशी प्रदेशसभामा कायम रहेका ९३ सांसदमध्ये सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ । तर कुनै पनि गठबन्धनले ४७ जना सांसदसहित बहुमत पुर्याउन नसकि संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दल सम्मिलित सरकार गठन गर्न समस्या भएपछि सभामुखले पदबाट राजीनामा गर्नुभएको थियो ।
सभामुख गौतम माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएकाले राजीनामा पछि उक्त गठबन्धनमा आवश्यक बहुमत पुगेको हो । प्रदेशसभामा कांग्रेसको २९, माओवादी कन्द्रको १३, नेकपा एसको ४ र जसपाको एक जना सांसद छन् ।