व्यासमा खरको छाना विस्थापित

  साउन १६, २०८०

तनहुँ, १६ साउन : तनहुँको व्यास नगरपालिका–१३ की फुलमाया विकले वर्षौंदेखि खरको छानामा जीवन बिताउँदै आउनुभयो । घर नजिक जङ्गल भएका कारण खरको छानामा आगलागी हुने डरले उहाँलाई सधैँ सताइरहन्थ्यो । जिन्दगी खरको छानामै बित्छ झैँ लाग्थ्यो, तर त्यो सपना व्यास नगरपालिकाले पूरा गरिदिएको विक बताउनुहुन्छ ।

खरको छाना विस्थापित गर्ने कार्यक्रममार्फत नगरपालिकाले खरका छाना हटाएर जस्तापाता लगाइदिएपछि अहिले विक जस्तै धेरैजना खुसी हुनुहुन्छ । नगरपालिकाले प्रतिघर रु ७५ हजारका दरले खरको छाना विस्थापित गरी जस्तापाता लगाइदिएको हो । यसबाट अब आगलागी र पानी चुहिने समस्याको अन्त्य हुनाका साथै ढुक्कले घरमा बस्न सकिने विक बताउनुहुन्छ ।

व्यास नगरपालिका कार्यालयबाट खरको छाना विस्थापित गरी विपन्न परिवारका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई नगरपालिकाले जस्तापाताले घर छाउन सहयोग गरेको नगरपालिकाको घरनक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिनुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९-८० मा ६८ अतिविपन्न परिवारको घरको छानो जस्तापाताले छाएको छ । रु ५१ लाखको लागतमा जस्तापाता लगाइएको नगरपालिकाले जनाएको छ । तनहुँ क्षेत्र नं १ अन्तर्गत नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाएको छ । सुरक्षति नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँ क्षेत्र नं १ मा ६८ परिवारलाई पहिलो किस्तावापत् रु ४५ हजार प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया