मानव बेचबिखनको अवस्था: १८ वर्षमुनिका बालिका बढी पीडित

  साउन १६, २०८०

काठमाडौं, १६ साउन : नेपालमा मानव बेचबिखन अपराधमा १८ वर्षमुनिका पीडित बालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको तथ्याङ्क छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार करिब दुई वर्षअघि आर्थिक वर्ष २०७७–७८ मा १८ वर्षमुनिका पीडित बालबालिकाको सङ्ख्या एक सय ८७ रहेकोमा बालकको सङ्ख्या एक र बालिकाको सङ्ख्या ७९ छ ।

सो आवमा १८ वर्ष माथिका पुरुष तीन र महिला १०४ गरी जम्मा पीडितको सङ्ख्या एक सय ८७ छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभिन्न प्रलोभनमा मानिसहरु हवाइमार्ग र स्थलमार्गको माध्यमबाट विदेश जानेगरेको बताउनुभयो । उहाँले स्थलमार्गबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्राउण्डबाट जानेहरु भारत मात्र जान्थे । अहिले भारत हुँदै तेस्रो मुलुक जान्छन् । जाँदाखेरी आफन्तसँगै जाने गर्छन् । भारतमा जाने भनेपछि रोकतोक गर्ने आधार भएन । अहिले पनि दैनिकजसो भिजिट भिसामा जान्छन्, कानुनमा जाने व्यवस्था पनि छ ।”

एक वर्षअघि आर्थिक वर्ष २०७८–७९ मा १८ वर्षमुनिका पीडित बालकको सङ्ख्या एक र बालिकाको सङ्ख्या ८२ रहेको प्रहरीको तथ्याङ्क छ । सो वर्ष पीडित पुरुष १० र महिलाको सङ्ख्या ११८ रहेको छ ।

प्रहरीले भिजिट भिसामा जानेहरु हप्तामा करिब ८० देखि ९० जनालाई विमानस्थलबाटै फर्काउने गरेको छ । उहाँले भन्नुभयो, “जस्तो कि, इराक जाने भन्छन् । उसको त्यहाँ कोही आफन्त पनि हुँदैन । सरकारले त्यहाँ काम गर्न दिएको छैन ।” उहाँले सरकारले काम गर्न प्रतिबन्धित देशमा पनि आर्थिक प्रलोभनदेखि रोजगारी, पढाइ, फिल्म खेलाइदिन्छुसम्म भनेर प्रलोभनमा पार्ने गरेको बताउनुभयो ।

प्रहरीले अवैधानिक रुपमा जानेले बोर्डरमा झुटो बोल्नेगरेको जनायो । नाताले छोरी पर्छ भने पनि नाता प्रमाणित नभएका कयौं केशहरु रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरी भन्छन्, छोरी र उसको नाता प्रमाणित देखिँदैन । नाबालकदेखि कतिपयको त गाउँबाट नै सिफारिस बनाएर ल्याइएको हुन्छ उपचार गर्न भनेर । बाहिर लगेपछि अरु नै कार्यमा लगाइन्छ, पीडित बनाइन्छ, अन्य क्रियाकलाप, शोषण गर्ने गरिन्छ ।”

पछिल्लो समय आर्थिक वर्ष २०७९–८० मा पीडित बालकको सङ्ख्या एक र बालिकाको सङ्ख्या ८४ रहेको तथ्याङ्क छ । यो वर्ष १८ वर्षमाथिका पुरुष १९ र महिला २३० गरी जम्मा १५५ पीडित छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा १८ वर्ष माथिका १८३ महिला र पुरुष ३ पीडित भएका छन् । सो वर्ष महिला अभियुक्त ९५ र पुरुष २०२ जना रहेको तथ्यांक छ ।

२०७८–७९ मा पीडित महिलाको सङ्ख्या २०० र पुरुष ११ जना छन् । सो वर्ष महिला ७५ र पुरुष २०९ अभियुक्त छन् । २०७९–८० मा पीडित महिला २१० र पीडित पुरुषको सङ्ख्या २० छ । सो वर्ष महिला अभियुक्त १२१ र पुरुष अभियुक्तको सङ्ख्या २२२ छ ।

मानव बेचबिखनमा हुने पीडितमध्ये महिला र बालिकाको बढी किन भएको होला भन्ने जिज्ञासामा महिला आयोगकी अध्यक्ष कमला पराजुलीले समाजमा रहेको लैङ्गिक विभेद यसको एउटा कारण भएको बताउनुभयो ।

अध्यक्ष पराजुलीले भन्नुभयो, “कर्णालीमा होस् या सुदूरपश्चिममा, मधेश, बागमती या जुनसुकै ठाउँमा छोराछोरी बीचमा विभेद छ । छोरा हाम्रो भोलिको सम्पत्ति हो, हेरविचार गर्ने, खाने, हकवाला हो भन्नेखालको सोच छ । छोरा र छोरी समान अंशियार हुन भनेर स्वीकार गरेको देखिँदैन ।”

उहाँले भन्नुभयो, “घर, परिवार, समाजमा दुर्व्यवहार, असमानता, विभेद खेपिरहेका हुन्छन् । कतिपय बुवाआमा, परिवार, आफन्तले सरसल्लाह गरेर नै बाहिर पठाइदिन्छन् । तुलनात्मक रुपमा केटाभन्दा केटीहरु नै यस्तोमा धेरै हुन्छन् ।” छोरी मान्छेले घरको सरसफाइ, भाँडा माँझ्नेलगायतको काम सानै उमेरदेखि गर्ने भएकाले गाउँबाट सदरमुकाम, सदरमुकामबाट प्रदेश, प्रदेशबाट केन्द्र, पहाडबाट मधेसमा एक ठाउँबाट अर्को ठाउँमा लगेर होटल, डान्सबारलगायतका क्षेत्रमा दुरुपयोग गर्नेगरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “त्यस्ता ठाउँमा अझ बढी किशोरीलाई दुरुपयोग, श्रम शोषण, विभेद गर्ने, बाहिर लाने, बोर्डर क्रस गराउने धेरै भएका छन् । १२, १३ वर्षको नानीलाई उमेर पुगेको भनेर १६, १७ वर्षको भनेर नागरिकता बनाइदिने । सिडिओले नमान्दा–नमान्दै बाउआमा सबैले जबरजस्ती नागरिकता बनाइदिने । नागरिकता बनाएपछि पासपोर्ट बनाएर वैदेशिक रोजगारीको नाममा ट्राफिकिङ भइरहेको छ ।” मानव बेचबिखन नियन्त्रण निकै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले मानव बेचबिखनजस्तो जघन्य आपराधिक गतिविधि रोकथाम एवम् नियन्त्रणका लागि सबै पक्षको आफ्नो भूमिका हुने भए पनि व्यक्ति स्वयम्को भने पहिलो भूमिका रहने बताउनुभयो ।

कहाँ जाने, जान लागिएको सङ्घ, संस्था, म्यानपावर अवैधानिक होकि होइन ? नक्कली कागजात किन बनाउने ? म गलत हुँ भन्ने कुराको जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमै दुःखजिलो गर्नसक्ने आँट सिर्जना गर्नुपर्छ । यस किसिमको नीति बन्नुपर्छ । चेकजाँचमा नियमित र कडाइ गर्न जरुरी छ ।” हजारौं, लाखौं रुपियाँ तिरेर प्रलोभनमा विदेश जाँदा कतिपयको ज्यान समेत जोखिममा पर्नेगरेको छ । पीडितको सङ्ख्या बढेसँगै यसको मुद्दा दर्ता र पक्राउ पर्नेको सङ्ख्या पनि बढेको छ ।

देशभर २०७७–७८ मा १३४ मुद्दा प्रहरीमा परेको थियो । सो वर्ष १११ पुरुष र ५१ महिला पक्राउ परे । ९१ पुरुष र ४४ महिला अभियुक्त फरार भए । यस्तै, २०७८–७९ मा १४५ मुद्दा परेको थियो । यसमध्ये पुरुष १२९ र महिला ४६ जना पक्राउ परे । ७० पुरुष र २९ महिला अभियुक्त फरार रहेको प्रहरीको तथ्याङ्क छ ।

वर्ष २०७९–८० मा १५७ मुद्दा दर्ता भएकोमा पुरुष १९२ र ६६ जना महिला पक्राउ परे । सो वर्ष ११५ पुरुष र ५५ महिला अभियुक्त फरार रहेको प्रहरीको सूची छ ।

तपाईको प्रतिक्रिया