बाढीपहिरो प्रभावितलाई राहत वितरण

  साउन १६, २०८०

ताप्लेजुङ, १६ साउन : नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेकोे छ ।

सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिमका ९६ घरपरिवारलाई राहत वितरण भइसकेकोे तरुण दलका ताप्लेजुङका कार्यवाहक सभापति पृथ्वी पालुंवाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित परिवारलाई नुन, तेल, चामलसहितका खाद्यान्नका सामग्री वितरण गरिएको छ । यस्तै आज सिदिङ्वाकै बाँकी परिवारलाई राहत वितरण गरिने जनाइएको छ ।

यसअघि मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई सो पार्टीले राहत वितरण गरेको थियो । कांग्रेसले जनप्रतिनिधि, शुभेच्छुक संस्थालगायतबाट राहतका लागि सहयोग रकम सङ्कलन गरेको थियो । यस्तै कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले समेत राहत वितरणका लागि सहयोग गर्नुभएको छ । बाढीपहिरोबाट प्रभावित परिवारको विवरण लिएर राहत वितरण गरिएको कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताउनुभयो । यस जिल्लामा बाढीपहिरोबाट चार सय बढी परिवार प्रभावित बनेका छन् ।

तपाईको प्रतिक्रिया