महेन्द्रनगर (धनुषा), १५ साउन : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
उहाँले गृह तथा सञ्चारमन्त्रीमा नेपाली कांग्रेसका सप्तरीका मोहम्मद समीम र श्रम तथा यातायातमन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई आज नियुक्त गर्नुभएको छ । मुख्यमन्त्रीको उपस्थितिमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त दुवै मन्त्रीलाई शपथ गराउनुभयो ।
मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) बाट बिना विभागीयमन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा राखिने जानकारी दिनुभयो । स्वतन्त्र चुनाव जितेर जसपा प्रवेश गर्नुभएकी साह कांग्रेस सरकारमा सहभागी हुँदा बिना विभागीय बनाइनुभएको थियो ।
यसअघि आजै जनमत पार्टीका बिना विभागीयमन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री यादवले आठ महिनाको अवधिमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।