काठमाडौँ, १५ साउन : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सचिव शर्माका अनुसार आम सर्वसाधरण, पार्टी कार्यकर्ता र देशबासीलाई समेत प्रत्यक्ष जानकारी दिने उद्देश्यले बैठकको सबै कारबाही प्रत्यक्ष प्रसारण गर्न लागिएको हो । यसअघि समूहगत रुपमा गरिँदै आएको छलफल नगरी सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने गरी कार्यक्रम तय भएको उहाँको भनाइ छ ।
यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेपछि राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेसको उक्त निर्णयको प्रशंसा गर्दैै कम्युनिष्ट पार्टीको बैठक पनि प्रत्यक्ष प्रसारण गर्न सुझाव दिनुभएको थियो ।