चीन, १५ साउन : आहा ! कति सुन्दर सहर, जताततै फूलैफूलको मनमोहक दृश्य, सुन्दर, शान्त, विशाल भवनहरु । जताततै हरियाली सफा चट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन यी ।
“यति व्यवस्थित र सुन्दर कसरी भयो होला ?” यात्रामा सँगै सहभागी मित्र कमलमणि गौतमले आफ्नो मनको कौतुहता व्यक्त गर्दै भन्नुभयो, “अद्भूत विकास, नेपाललाई यस्तै कहिले बनाउने होला ?” उहाँको प्रश्नमा अनायाशै अर्का मित्र धुव्र भण्डारी (विश्व) ले थप्नुभयोे, “पैसाभन्दा पनि देश नेतृत्व गर्नेको ‘भिजन’ हो, यहाँको नेतृत्वको ध्यान प्रकृतिमैत्री विकास केन्द्रित देखिन्छ ।”
ठूल–ठूला सहरका विशाल संरचना तर मानिसहरु कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए । तर यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो । तर चिनियाँ भाषा नजान्ने भएपछि सोधिहाल्ने कुरा पनि भएन । कौतुहलता मनमै रह्यो । गत जेठ २१ गतेदेखि असार १२ गतेसम्म चीनको हन्जाउ सहरमा आयोजित ‘विकासशील देशहरुको आर्थिक निर्माण र हरित दिगो विकास’ विषयक गोष्ठीमा भाग लिन जाँदा यस्तै धेरै सवालहरु मनमा आए ।
एक दिन साँझ (जेठ २६ गते) बाहिर निस्कियौँ । गोष्ठीमा सहभागी हुन आउनुभएका म्यासेडोनियाका पूर्वसांसद टोडोर पेट्रोभले भन्नुभयो, “वाउ ! कम्युनिष्ट राष्ट्रको विकास देखेर अचम्म लाग्यो, यो देश यति सम्पन्न, सुन्दर र यति भव्य होला भन्ने लागेको थिएन ।” उहाँले आफ्नो देशको अवस्थाबारे सुनाउनुभयो । उहाँको देश र र नेपालको अवस्था मिल्दोजुल्दो रहेछ । उहाँले चासोपूर्वक नेपालबारे सोध्नुभयो । मैले नेपालको राजनीतिबाहेक अन्य विषयमा केही जानकारी दिने प्रयास गरे । नेपाल सानो तर सुन्दर राष्ट्र भएको सुनाएँ । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्ध नेपालमा जन्मिएको, नेपालका चर्चित हिमालको वर्णन गरेँ ।
मैले धेरै जिज्ञासा उहाँकै देशबारे राखेँ । उहाँले भन्नुभयो, “बहुराजनीतिक दल, अस्थिर सरकार, विकासभन्दा सरकार बनाउन र सत्ता टिकाउनकै ध्यान छ म्यासेडोनियामा, आफ्नो देश विकास भएको हेर्न मन छ ।” उहाँका कुराले मलाई पनि आफ्नो देशको अवस्थासँग मिल्दोजुल्दो लाग्यो । हल्का पानी परिरहेको थियो । वरिपरिका रुखका पातहरु हल्लिरहेको वातावरण नियाल्दै पेट्रोभले थप्नुभयो, “साँच्चै हरेक कुरा कति व्यवस्थित छ यहाँ ।”
हन्जाउ शहरको सुन्दरता साँच्चै मनमोहक छ । अरु विकसित देशमा पनि भौतिक पूर्वाधार र सूचना प्रविधिको अत्याधिक विकास छ । त्यसका साथै प्राकृतिक सुन्दरता र हरियाली पनि उत्तिकै मन लोभ्याउने खालको छ । (रासस)






