सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री

  साउन १४, २०८०

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताउनुभएको छ ।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा गरिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।” प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गर्नुभयो ।

उहाँले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा मरहठ्ठाले पु-याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ ।”

मरहठ्ठाको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने प्रधानमन्त्रीको भनाइ छ ।

पुस्तकमा ‘माधव सर’को जीवनी, योगदान र प्रेरणालाई बहुआयाममा उल्लेख गरिएको छ । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताउनुभयो ।

“सरकार गठनको सात महिनासम्म पुग्दा जे-जति मेहनत गरिएको छ, त्यसबाट जे-जस्ता उपलब्धिहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । पुस्तक माधवप्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनले प्रकाशन गरेको थियो ।

उक्त पुस्तक घोष्ट राइटिङ नेपालले तयार पारेको हो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितराज पाण्डे, कल्पना धमलालगायतको उपस्थिति थियो ।

सम्बोधनको पूर्णपाठ :

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन

९१४ श्रावण २०८०, काठमाडौँ

माधव प्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनका अध्यक्षज्यू,

कार्यक्रममा उपस्थित नेतागण,

प्रतिष्ठानका पदाधिकारीज्यूहरू,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित आदरणीय महानुभावहरू ।

नेपाली वामपन्थी आन्दोलनका अग्रज एवं शैक्षिक व्यक्तित्व कमरेड माधव प्रसाद मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण गर्ने यस महत्वपूर्ण अवसरका निम्ति स्मृति प्रतिष्ठान र उहाँको परिवारजनमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस सन्दर्भमा माधव सरले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

आमा मुक्तकुमारी मरहठ्ठा र बुवा शेषरमण मरहठ्ठाको कोखबाट वि।सं। २०१० साल श्रावण १४ गते गोरखा नगरपालिका–७ मा जन्मिनुभएका माधव मरहठ्ठा नेपालको कम्युनिस्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरूका गुरू हुनुहुन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलन एवं मुख्यतः गोरखामा कम्युनिस्ट विचारको बिजारोपण एवं पछिल्लो समय युग बदल्ने महान् जनयुद्धको तयारी, घोषणा, विकास र क्रान्तिको शान्तिपूर्ण रूपान्तरणको यात्रामा उहाँले जे–जति भूमिका खेल्नुभयो र योगदान गर्नुभयो, त्यो समकालीन राजनीतिक परिवर्तनका दृष्टिले मात्र नभएर विचार निर्माण र कम्युनिस्ट आन्दोलनको आउँदो पुस्ताका निम्तिसमेत अत्यन्तै महत्वपूर्ण र स्मरणीय छ । 

मरहठ्ठा सर बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । वामपन्थी आन्दोलनमा निरन्तर सक्रिय रहँदै क्रान्तिकारी जनमत निर्माण र कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै उहाँले साहित्य, शिक्षा, समाजसेवा र साहित्यका विविध विधामा आफूलाई स्थापित गर्दै समाजमा अतुलनीय योगदान गर्नुभएको छ । जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाहरूको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ । यसर्थ, उहाँको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने नै छ ।

प्रस्तुत पुस्तकमा माधव सरको जीवनी, योगदान र प्रेरणालाई बहुआयामबाट हेर्न खोजिएको पाउँदा म थप उत्साहित भएको छु । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ, जसले उहाँको समग्र व्यक्तित्वको वास्तविक चित्र प्रस्तुत गर्दछ । यो पुस्तक माधव सरको जीवनी, व्यक्तित्व, शिक्षा र योगदानका दृष्टिले चीरकाल महत्वको रहने मैले विश्वास लिएको छु ।

वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको छ । सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जे–जति मेहेनत गरिएको छ, त्यसबाट जे–जस्ता उपलब्धीहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ । पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरू गरिएका छन्, यसले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ, नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ । यस सन्दर्भमा म सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गर्दछु ।

अन्त्यमा, माधव सरको जीवनीमा आधारित महत्वपूर्ण पुस्तक प्रकाशनका निम्ति माधव प्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनप्रति आभार प्रकट गर्दै उहाँको व्यक्तित्वमाथि विविध कोणबाट समीक्षा र विश्लेषण गर्नुहुने समस्त लेखकहरूमा धन्यवाद भन्न चाहन्छु । र, माधव सरको जीवनी र निष्ठावान् एवं उर्जाशील कर्मबाट हामी सबैमा सकारात्मक उर्जा र प्रेरणा प्राप्त हुने विश्वासका साथ फेरि एकपटक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विदा हुन्छु, धन्यवाद ।

तपाईको प्रतिक्रिया