‘रनवे ड्रिम्स २०२३’ को तेस्रो सिजनको अडिसन सम्पन्न

  साउन १३, २०८०

काठमाडौँ, १३ साउन : ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा ‘रनवे ड्रिम्स २०२३’ तेस्रो सिजनको अडिसन सम्पन्न भएको छ । आज त्रिपुरेश्वरको ज्यासविन फिटनेस सेन्टरमा आयोजित अडिसनबाट ३० जना प्रतिस्पर्धी छनोट गरिएको हो ।

‘रनवे ड्रिम्स’को तेस्रो सिजनमा ७० जनाको आवेदन आएको र जसमध्ये ३० जना प्रतिस्पर्धी सहभागी हुने ड्रिम्स इन्स्टिच्युट अफमोडलिङ फेसनका एक्जुकेटिभ डाइरेक्टर समिरसिंह क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले रनवे ड्रिम्सको थिम नै ‘फिटनेस विथ फ्यासन’ रहेको र यसले मोडलिङमा भविष्य खोजिरहेका पुरूष तथा महिलालाई महत्त्वपूर्ण अवसर प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

त्यस्तै ‘रनवे ड्रिम्स २०२३’ का सहभागीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी हुने अवसर प्रदान गरेको इभेन्ट म्यानेजर पोषण शर्माले बताउनुभयो ।

उहाँले ‘रनवे ड्रिम्स २०२३’मा सहभागी प्रतिस्पर्धीले आगामी डिसेम्बरमा मलेसियामा हुने इपोः फ्यासन विक, फिलिपिन्समा आयोजना हुने मिस्टर वल्र्ड नोबल किङ, क्वुन अफ इन्टरनेसनल टुरिजम र दुबइमा हुने वल्र्ड फ्यासन फेस्टिवल अवार्डमा सहभागी हुने अवसर पाउने शर्माले बताउनुभयो ।

उहाँले पछिल्लो समय फेसनका विभिन्न ‘शो’ आयोजना हुने गरेको र उत्कृष्ट प्रतिस्पर्धी छनोटमा केही कमी–कमजोरी देखिएकाले यसलाई चिर्न रनवे ड्रिम्स सक्षम रहेको शर्माले बताउनुभयो ।

विभिन्न विधागतरूपमा छनोट गरिएको प्रतिस्पर्धीको निर्णायकमा एक्ज्युकेटिभ डाइरेक्टर समिरसिंह क्षेत्री, इन्टरनेसनल डिजाइनर ज्वालाराज पोख्रेल, फिटनेस टेनर प्रदीप न्यौपाने र खल्तीका सिनियर अफिसर अफ इभेन्टस् पूजा धामी रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया