सप्तरी, १३ साउन : मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिँदै आएको उर्मिलादेवी मैथिली गीत गायन पुरस्कार राजविराज नगरपालिका–४ की कञ्चन झालाई प्रदान गरिने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइबुहारी उर्मिलादेवी झाको स्मृतिमा स्थापित पुरस्कारबाट यस वर्ष मैथिली लोकगीत गायिका कञ्चनलाई पुरस्कृत गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । झाका अनुसार मैथिली साहित्य परिषद्को समन्वयमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मैथिली साहित्य परिषद्का आजीवन सदस्य मैथिली गीत गायिका उर्मिलादेवीको पाँच वर्षअघि मधुश्रावणी पर्वकै समयमा मोरङको विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । उर्मिलाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी झाले चार वर्षदेखि पुरस्कार वितरण गर्दै आउनुभएको छ ।
गत वर्ष सो पुरस्कारबाट गायिका एवं रेडियोकर्मी तिरहुत गाउँपालिका–१ की मुनचुन देव ‘प्रिया’ पुरस्कृत हुनुभएको थियो । यस्तै २०७७ सालमा राजविराज–७ की किरण झा र २०७८ सालमा राजविराज–४ की रञ्जु साह पुरस्कृत हुनुभएको थियो ।
पत्रकार तथा अभियानकर्मी झाले बुवाको स्मृतिमा पण्डित नित्यानन्द झा स्मृति पुरस्कार, स्व पत्रकार उमा सिंहको स्मृतिमा उमा सिंह पत्रकारिता पुरस्कार र अथक मानवअधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा वैद्य–प्रकाश मानवअधिकार पुरस्कारसमेत स्थापित गर्नुभएको छ ।
मैथिली गीत गायन पुरस्कार प्रकाश स्मृति दिवसकै अवसरमा मङ्गलबार राजविराजस्थित नेपाल पत्रकार महासङ्घको सभाकक्षमा हुने कार्यक्रममा वितरण गरिने झाले जानकारी दिनुभयो । उक्त कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोगका सदस्य तथा पूर्वन्यायाधीश मिहिर ठाकुरको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।