भक्तपुर, १० साउन : आफ्नो पुख्र्यौली भक्तपुर छाडेर लामो समयदेखि बन्दीपुरमा बस्दै आउनुभएका साहित्यकार मोहनबहादुर कायस्थको पुस्तक ‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक भएको छ ।
सिर्जना अभियान समाज भक्तपुरले यहाँ आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा साहित्यकार कायस्थको ८४औँ पुस्तकको रूपमा ‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा ९५ वर्षीय बेलभक्त कायस्थ, साहित्यकार तिलकप्रकाश कायस्थ, डा विष्णुबहादुर भण्डारी, उत्तमनारायण मल्ल र धनमान श्रेष्ठले संयुक्तरूपमा कृतिको विमोचन गर्नुभएको हो ।
कार्यक्रममा लेखक कायस्थले ४० सालदेखि आफ्ना कृति प्रकाशित हँुदै आएको उल्लेख गर्दै पुस्तकमार्फत समाजको चित्रण गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा डा विष्णुबहादुर भण्डारीले साहित्यकार कायस्थले ८० वर्षको उमेरमा ८४ वटा पुस्तक लेख्नु सहज नभएको भन्दै उहाँका सत्यमोहन जोशीमाथि लेखिएको पुस्तक, बन्दीपुरका जातजाति र साहित्यकारबारे लेखिएका खोजमूलक कृति निकै महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
साहित्यकार तिलक प्रकाशले राजनीतिक कारणले गर्दा आफ्नो थातथलो छोडेर जानेका बारेमा पनि खोज अध्ययन गरेर लेखिनुपर्ने औँल्याउनुभयो । लेखक उत्तमनारायण मल्ल, धनमान श्रेष्ठ, साहित्यकार ध्रुव मधिकर्मी, विनोदराज ढुङ्गेललगायतले कृतिमाथि चर्चा गर्नुभएको थियो ।