थाइ सुधारवादी नेता पितालाई सांसदबाट निलम्बन, प्रधानमन्त्री बन्ने सपना अधुरै

  साउन ०३, २०८०

बैङ्कक, ३ साउन : थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास बुधबार समाप्त भएको छ ।

बयालीस वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा संसदबाट निलम्बित गरिएको थियो । उहाँलाई निलम्बन गरेपछि सांसदहरूलाई उहाँलाई दोस्रो मतदानको लागि विचार गर्न सकिने वा नसकिने पक्षमा गरेको मतदानमा उहाँलाई दोस्रो प्रयास गर्न नदिने पक्षमा बहुमत आएको थियो । यससँगै उहाँको सरकार हाँक्ने अभियान तत्कालका लागि अन्त्य भएको देखिन्छ ।

थाइल्याण्डको संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसदबाट पूर्णरुपमा अयोग्य ठह¥याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उहाँलाई निलम्बन गरिएको हो । थाइल्याण्डको संविधानअनुसार सांसदहरूलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि उहाँको शेयर रहेको भनिएको टेलिभिजन स्टेसनले सन् २००७ देखि प्रसारण सेवा बन्द गरेको छ ।

उहाँको पार्टीले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले लगभग एक दशकको सेना समर्थित शासनबाट निराश युवा र शहरी थाइहरूको समर्थनमा उच्च स्थान हासिल गरेको छ, तर सरकार गठनको लागि यसको प्रयासहरू असफल भएका छन् ।

आफ्नो मुट्ठी उठाएर (अभिवादन) गर्दै संसद भवनबाट बाहिरिनु पहिले भन्नुभयो, “हामी फेरि भेट्नेछौँ । त्यतिवेलासम्म म सांसदका रूपमा बिदाइ हुन चाहन्छु ।” उहाँ विधानसभाको हलबाट सहयोगी दलहरूको सांसदहरूको जयजयकारसँगै निस्किनुभएको थियो ।

हार्भर्डमा पढेका र परिवारले चलाएको एग्रिफुड व्यवसायबाट धनी बनेका पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतमा पाएको बताउनुभएको छ । उहाँलाई शेयरबारे १५ दिनभित्र जवाफ दिन समय दिइएको छ ।

उहाँले संसद छोडेपछि भएको मतदानमा सांसदहरूले ठूलो मतान्तरले उहाँलाई दोस्रो पटक प्रधानमन्त्रीका लागि विचार गर्न नमिल्ने पक्षमा बहुमत दिएका थिए ।

मतदान नतिजा सुनाउँदै सभामुख वान मोहम्मद नूर माथाले भन्नुभयो, “यो संसदको अधिवेशनमा पितालाई दोस्रो पटक निर्वाचनमा सहभागी गराउन सकिँदैन ।”

पिताको निलम्बनको खबर सार्वजनिक भएपछि संसदको गेटमा पहरा दिइरहेको ठूलो दङ्गा प्रहरी घेरामा दर्जनौं समर्थक रोएका थिए र थाइ संस्थापनलाई गाली गलौज गरेका थिए ।
आफ्नो नाम नबताउने एक प्रदर्शनकारीले एएफपीसँग भन्नुभयो, “नागरिकहरूलाई चुनावमा जान किन आग्रह गर्ने?”

प्रदर्शनकारीहरू बैङ्ककको ‘प्रजातान्त्रिक स्तम्भ’ नजिकै सार्वजनिक ¥यालीका लागि जम्मा भएका छन् र प्रहरीले सम्भावित कुनै पनि अशान्तिका लागि सुरक्षार्थ तयार रहेको बताएको छ ।

रोयल थाई प्रहरीका प्रवक्ता आर्कियोन क्राइथोङले भन्नुभयो, “उनीहरूको राय जस्तोसुकै भए तापनि उनीहरूले प्रहरीले तोकेका नियम र आदेशहरूको पालना गर्नुपर्छ ।”

गत हप्ता भएको संयुक्त संसदीय बैठकमा आवश्यक समर्थनभन्दा दर्जनौं मत कम भएपछि प्रधानमन्त्रीमा पिताको पहिलो प्रयास असफल भएको थियो ।

थाइल्याण्डको सिनेटमा सेनामा नियुक्त भएका २४९ सिनेटरमध्ये १३ जनाले मात्र गत साता पिताको पक्षमा मतदान गरेका थिए । उहाँको उम्मेदवारीको अगाडि अन्य अवरोधहरू फ्याँकिएका छन् ।

थाइल्याण्डको शाही मानहानि कानूनलाई संशोधन गर्ने एमएफपीको चुनावी वाचा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने योजना सरह भएको आरोप लगाउँदै दायर गरिएको मुद्दाको सुनुवाइ गर्न पनि अदालत सहमत भएको छ ।

पिताको पार्टीले राजसंस्थाका दोषी आलोचकहरूलाई १५ वर्षसम्म जेल सजाय हुने गरी कानुन संशोधन गर्ने आफ्नो प्रतिबद्धतामा सम्झौता गर्न अस्वीकार गरेको छ ।

एमएफपीको सुधारवादी गठबन्धनले राज्यको अर्थव्यवस्थामा ठूलो भूमिका खेल्ने परिवारको स्वामित्वमा रहेको व्यापारिक एकाधिकारको लागि पनि खतरा सिर्जना गरेको छ ।

तपाईको प्रतिक्रिया