मस्को, ३१ असार : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दावी गर्नुभएको छ ।
युक्रेनले पश्चिमा हतियारको भण्डार र आफ्नो आक्रामक सेनाको निर्माणपछि आफ्नो बहुप्रतीक्षित लडाई सुरु गरेको थियो । “सबै शत्रुले हाम्रो प्रतिरक्षालाई तोड्ने प्रयास गर्छन् । आक्रमण सुरु भएदेखि नै उनीहरू सफल भएका छैनन् । शत्रु सफल हुँदैन,” पुटिनले आइतबार प्रसारण भएको एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो ।
यूक्रेनले शुक्रवार रूसी सेनासँगको लडाईं कठिन अवस्थामा रहेको बताएको थियो । युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येरमाकले पत्रकारहरूसँग भन्नुभयो, “प्रतिकार आज अपेक्षित छिटो अघि बढिरहेको छैन ।” कीभका अनुसार गत एक हप्तामा उसका सेना दक्षिणी मोर्चामा करिब दुई किलोमिटर अघि बढेका छन् ।
राष्ट्रिय सुरक्षा बलका वरिष्ठ प्रतिनिधि माइकोला उर्शालोभिचले जारी आक्रमणका क्रममा सैनिकहरू कब्जा गरिएको दक्षिणी शहर मेलिटोपोलतर्फ अघि बढेको पत्रकारहरूसँग बताउनुभयो । आइतबार सेनाले मेलिटोपोल र बर्दयान्स्कतर्फ आक्रामक अभियान सञ्चालन गरिरहेको जनाएको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत हप्ता प्रतिज्ञा गरिएका हतियारहरूको ढिलो वितरणले कीभको प्रतिआक्रमणमा ढिलाइ भइरहेको बताउनुभएको थियो । उहाँले उक्त अवसरमा संयुक्त राज्य अमेरिका र अन्य सहयोगीहरूलाई लामो दूरीका हतियार र तोपखाना प्रदान गर्न आह्वान गर्नुभएको थियो ।






