काठमाडौँ, ३० असार : पुष्पलाल स्मृति दिवसका अवसरमा प्रगतिशील लेखक सङ्घ वाग्मती प्रदेशले आज आयोजना गरेको कार्यक्रममा प्रगतिशील रचना वाचन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति समर्पित गोष्ठीमा कवि र कथाकारहरूले एक लाइन कविता (एलाक), पद्य–गद्य कविता, गीत, गजल, मुक्तक, लघुकथामार्फत राष्ट्रियता, सीमा संरक्षण, युवा एवं स्रष्टाहरूको शक्ति, श्रमिकको तागतलगायत विषय उजागर गरे ।
स्रष्टाहरूले भानुभक्तकालीन बेथिति यथावत् रहेकामा गुनासो गर्दै कान्तिपुरको सौन्दर्य कायम राख्नुपर्नेमा पनि जोड दिए । जीवन बाँच्न कठिन भएको तथा आस्था र विश्वास खण्डित हुँदै गइरहेकामा पनि उनीहरूले काव्यमार्फत गुनासो गरे ।
कवि डम्बर एलाक, श्याम रिमाल, नन्दु उप्रेती, त्रिलोचन आचार्य, चेतनाथ धमला, गिरिप्रसाद बुढा, शिवप्रसाद आचार्य, दिल पौडेल, डिबी बर्ताैला, रिमबहादुर रानाभाट, छन्दविज्ञान निरौला, वासुदेव ठकुरी, श्रीराम अधिकारी, नमुना शर्मा, डा सीता सुवेदी, नानीमाया अधिकारी, सुगीता शाह, लघुकथाकार यमुना प्रधानाङ्गलगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रलेसका उपाध्यक्ष समिर सिंह, प्रलेस वाग्मतीका अध्यक्ष डा हरिप्रसाद सिलवाल र उपाध्यक्ष वैरागी जेठा, वाग्मती सहइन्चार्ज कृष्ण भारद्वाजलगायतले प्रगतिशील रचना संसार फेर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो । वाचित कविता प्रलेस वाग्मती स्मारिकामा प्रकाशन गरिने पनि जनाइएको छ ।