‘सरकार गठनको दोस्रो प्रयास विफल भए आफ्नो उम्मेदवारी फिर्ता’

  असार ३०, २०८०

बैंकक, ३० असार : थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका लागि उदारवादी उम्मेदवार पिता लिम्जारोएनरतले आगामी हप्ता संसदले आफुलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन नगरे आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने बताउनुभएको छ ।

पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको निर्बाचनमा सबैभन्दा बढी सिट जितेको थियो । राज्यमा नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि थाई युवाहरू आतुर र उत्साहित भएका थिए।

तर हार्वर्ड विश्वविद्यालयमा पढेका पिताले नयाँ सरकारको नेतृत्व गर्ने अभियानलाई बिहीबार संसद्मा भएको मतदानमा सिनेटरहरू असफल बनाइदिएका थिए । उहाँले मानहानीसम्बन्धी व्यवस्था भएको कडा थाई कानूनमा सुधार गर्ने आफ्नो प्रतिज्ञालाई कार्यान्वयनमा लाने बताउनुभएको थियो ।

नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिकामा बुधबार दोस्रो मतदान हुँदैछ र पिताले गठबन्धनका साझेदार फेउ थाईका उम्मेदवारलाई आवश्यक मत प्राप्त गर्न असफल भएमा आफूले समर्थन गर्ने बताउनुभएको छ ।

“ हामी सफल हुन सकेनाौँ । यसका लागि म माफी माग्न चाहन्छु,” उहाँले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सम्बोधनमा भनिएको छ । “म थाइल्याण्डलाई मौका दिन तयार छु र दोस्रो मत प्राप्त गर्ने पार्टीलाई मौका दिन तयार छु । गठबन्धन बनाउन एक हुनुहोस् ।”

पहिलो मतदानमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आवश्यक पर्ने ३७५ सांसदमध्ये पितालाई ५१ मत पुगेको थिएन । केवल १३ सिनेटरहरूले उहाँको पक्षमा मतदान गरेका थिए । धेरैले राज्यको शाही मानहानीसम्बन्धी कानूनलाई नरम पार्ने एमएफपीको प्रतिज्ञाको विरोध गरेका थिए ।

पहिलो मतदान पछि, पार्टीले कानूनमा प्रस्तावित संशोधनहरूमा सम्झौता गर्न अस्वीकार गरेको छ । प्रस्तावित संशोधनले हाल राजतन्त्रका दोषी आलोचकहरूलाई १५ वर्षसम्म जेल सजाय दिन अनुमति दिन्छ ।

राजनीतिक विश्लेषक थितिनान पोंगसुधिराकका अनुसार सबै २५० सिनेटरहरू सैनिक निकटस्थ जुन्ता प्रशासनद्वारा ड्राफ्ट गरिएको संविधान अन्तर्गत नियुक्त गरिएको थियो, यो नै एमएफपीको सुधारवादी अभियानमा एउटा जटिल बाधा भएको बताउनुभयो ।

उहाँले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “यो प्राधिकरण र शासनका लागि लामो समयसम्म सत्तामा रहिरहने र उनीहरूविरुद्ध उभिन सक्ने लोकतन्त्र समर्थक सरकारलाई रोक्ने एउटा तरिका हो ।”

पिताले शनिबार आफ्ना समर्थकलाई ‘सिर्जनशील’ हुन आग्रह गर्दै सिनेटरहरूलाई अर्को चरणमा आफ्नो पहिलो चरणको मतदानको समयको अडानमा परिवर्तन गर्न आग्रह गर्नुभएको थियो ।

“म एक्लैले सिनेटरहरूको मन परिवर्तन गर्न सक्दिन । त्यसैले म सबैलाई यो मिसनमा सहयोग गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो, “तपाईं सोच्न सक्ने सबै तरिकाले सोचेर सिनेटरहरूलाई हर सम्भव तरिकाले सन्देश पठाउनुहोस् । यसले पक्कै उनीहरूको पहिलेको निर्णयमा परिवर्तन आउनेछ ।”

एमएफपीको सबैभन्दा ठूलो गठबन्धन साझेदार फेउ थाई पार्टी, जसका सदस्यहरूमा २००६ र २०१४ मा सैन्य विद्रोहबाट विस्थापित भएका दुई पूर्व प्रधानमन्त्रीहरू समावेश छन्, लाई सिनावात्रा परिवारको राजनीतिको लागि एक वाहनको रूपमा हेरिएको छ ।

पिताको दोस्रो अभियान असफल भएमा ६० वर्षीया धनाड््य नेता श्रेता थाभिसिनलाई फेउ थाईको प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा पनि छ । थाइल्याण्डका प्रभावशाली अभिजात वर्गबीच व्यापारिक नेताहरूले मन पराएका उहाँलाई सम्भावित सम्झौतापरस्त उम्मेदवारको रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया