काठमाडौँ, २९ असार : संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै हुनुहुन्छ ।
उहाँले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नुहुनेछ र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको छ ।
यसका साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ जनाइएको छ । साथै उहाँले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ । उहाँले गत वर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो ।
ससुराली देशमा कूटनीतिक यात्रा
विदेशमन्त्री लुले पहिलो पटक सन् १९९३ मा नेपाल भ्रमण गर्नुभएको थियो । उहाँले एक भिडियो सन्देश दूतावासमार्फत सार्वजनिक गर्दै त्यसबेला नेपाल आउँदा एक नेपाली युवतीसँग प्रेममा परेर बिहे गरेको स्मरण गर्नुभयो ।
यस हिसाबले नेपाल उहाँको ससुराली देश हो । अहिले अमेरिकाको सहायक विदेशमन्त्रीको हैसियतमा कूटनीतिक यात्रामा ससुराली देश नेपाल आउन लागेको उहाँले औँल्याउनुभएको छ ।
नेपाली युवतीसँगको २६ वर्षे लामो वैवाहिक सम्बन्ध अझै सुमधुर रहेको र आफूहरूका दुई सन्तान रहेको उहाँले जानकारी दिनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।