सुमनलाई अमेरिकामा स्वर्ण पदक

  असार १७, २०८०

काठमाडौँ, १७ असार : नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण पदक जितेका हुन् ।

इन्टरनेसनल स्पोर्ट्स कराते एशोसिएशन आइएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा सुमनले २९.९५ अङ्क जोडे । गुवाटेमाला दोस्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेस्रो भए । सुमनका अनुसार उनले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए ।

प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो । सुमनले यसअघि बङ्गलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलङ्कामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौँं एसियाली गोजुरियो करातेमा रजत पदक जितेका थिए ।

त्यस्तै उनले मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य र जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्णपदक जितेका थिए ।

तपाईको प्रतिक्रिया