काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न : मन्त्री ज्वाला

  असार ०४, २०८०

काठमाडौं, ४ असार : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीसहित द्रुतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले समयमा नै काठमाडौं–तराई द्रुतमार्ग निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिए पनि विभिन्न कारणले ढिला भएको बताउनुभयो ।

मन्त्री ज्वालाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको जानकारी दिनुभयो । उहाँले बाहिर चर्चा भएजस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको बताउनुभयो । मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनाशायले योजना छनोट नगरेको औँल्याउनुभयो । उहाँले मन्त्रालयले विभेदपूर्ण रूपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको बताउनुभयो ।

‘‘मन्त्रालयले विभेदपूर्ण रूपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम भएको छैन । सडकमा पाँच लाख मात्रै भन्ने कुरामा मन्त्रालयले बजेटको सिलिङ थप्न अनुरोध गर्‍यौँ । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग बजेटमा सिलिङ थप्न तयार भएको हो । मन्त्रालय बजेट सिलिङ थपिने आशामा थियौँ । सांसदहरूबाट आएका र पुराना  योजनाहरू सबै समावेश गर्‍यौँ । फास्ट ट्रयाकको लागत र समय बढेको छ । तर अब सरकारले समय निर्धारण गरेको छ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘वि.स.२०८३ भित्र महँगो नै भए पनि निर्माण गर्ने योजना बनाएका छौँ । छिटो होला भनेर सरकारले नेपाली सेनालाई दिएको हो। अहिले विभिन्न कारणले ढिलो भए पनि अहिले काम तीव्र रूपमा अघि बढेको छ । अब २०८३ भित्र सम्पन्न हुन्छ ।’’

उहाँले सङ्घीयअन्तर्गतका सडकहरूमा पाँच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको बताउनुभयो । उहाँले बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदाहुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले परिवर्तन नभई प्रत्येक सडकमा पाँच लाख विनियोजन भएर आएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया