विद्युत प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन : अध्यक्ष साह

  असार ०४, २०८०

काठमाडौं, ४ असार : आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष साहले प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताउनुभएको हो ।

उहाँले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताउनुभयो । उहाँले रेडबुकमा स्पष्टसँग विद्युत प्राधिकरणअन्तर्गत हुने खर्चहरू नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको जानकारी दिनुभयो ।

‘‘विद्युत प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्ति केन्द्रप्रति जबाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जबाफदेही छैन । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो । किनकि ऊर्जामा झण्डै ६० अर्ब जति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने ? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षक अनुसार गतिविधि सांसदहरूले जान्नै नहुने हो ?,’’ सांसद साहले भन्नुभयो, ‘‘कुन ठाउँमा विद्युत प्रसारण बढाउँदै हुनुहुन्छ ? कहाँ सब-स्टेशन बढाउँदै हुनुहुन्छ ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरू । यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरू किन उठाउन पहल भइराखेको छैन ? अन्तिम आर्थिक वर्षमा नाफामा देखाएर दुनियाँलाई झुक्याउने ? एकातिर ठूल्ठूला व्यापारिक घरानाहरूलाई सेवा गर्ने । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न । समयमा लाइन पनि दिनुपर्दैन । तर दण्ड ठोकी हाल्नुपर्छ ।’’

सांसद साहले प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताउनुभयो । प्राधिकरणले व्यापारिक घरानाहरूलाई सेवा गरेको तर गाउँघरमा विद्युत प्रसारण गर्न नसकेको भनाइ व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया