बाढी र पहिरोले ताप्लेजुङका अधिकांश सडक अवरुद्ध

  असार ०३, २०८०

ताप्लेजुङ, ३ असार : ताप्लेजुङका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् । निरन्तरको वर्षासँगै ठाउँ–ठाउँमा गएको बाढीपहिरोले सडक र मोटरेबल पुलमा क्षति  पुर्‍ याएपछि सडक अर्थात यातायात अवरुद्ध बनेका हुन् । पाँचथरको हेवाखोला पुल बाढीले बगाएपछि ताप्लेजुङ र पाँचथरको सदरमुकामको आवतजावत अवरुद्ध भएको हो । यो पुल बाढीले बगाएसँगै मेची राजमार्गको ताप्लेजुङ पाँचथर सडकखण्डको यातायात अवरुद्ध भएको छ ।

बाढीपहिरोले ग्रामीण सडक तथा मोटरेवल पुल भत्काउनुका साथै प्रयोग गर्न नमिल्ने बनाएपछि आन्तरिक तथा बाह्य यातायात सेवा अवरुद्ध भएका छन् । केही स्थानीय तहहरु सदरमुकाम फुङ्लिङसँग यातायात सम्पर्क विच्छेद भएका छन् । शनिबार राति भएको भीषण वर्षासँगै मैवाखोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्‍याएपछि सदरमुकामसँग आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको सडकसम्पर्क विच्छेद भएको छ ।

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा र आठराई त्रिवेणी–५ चाँगे जोड्ने दोभान बजार नजिकको मोटरेवल पुललाई मैवाखोलामा आएको बाढीले क्षति गरेपछि यातायात सेवा अवरुद्ध बनेको हो। मैवाखोलाको मोटरेबल पुल क्षतिग्रस्त हुनुकासाथै सान्थाक्रातर्फ सो पुलको जिपदेखि दोभान बजारको उत्तरी भागसम्म नै करिव डेढ सय मिटर जति सडक खोलाले कटान गरेपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको मैवाखोला गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।

यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुको कात्तिके र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्ने मोटरेवल पुलमा इन्द्रावती खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि सो क्षेत्रको यातायात सेवा पनि ठप्प भएको छ। बाढीले इन्द्रावतीको पुलमा क्षति गरेसँगै सिदिङ्वा गाउँपालिका र सदरमुकामको सडकसम्पर्क विच्छेद भएको छ ।

त्यस्तै शुक्रबार रातिको वर्षासँगै तावाखोलामा आएको बाढीले सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिम र सिरिजङ्घा गाउँपालिका–७ खेबाङको बाँकेटार जोड्ने मोटरेवल पुलमा क्षति पुर्‍याएपछि खेबाङ र वडा ८ याम्फुदिनको सदरमुकाम फुङ्लिङसँग सडक सम्पर्क टुटेको छ ।

जिल्लाका विभिन्न मोटरेवल पुलसँगै अधिकांश ग्रामीण सडकहरु बाढी पहिरोले क्षतिग्रस्त बनाएपछि यातायात सेवा अवरुद्ध भएका छन्। मोटरेवल पुल र ग्रामीण सडक क्षतिग्रस्त हुँदा यात्रु यातायात सुविधाबाट बञ्चित भएका छन् ।

यता बाढीपहिरोले मोटरेवल पुल र ग्रामीण सडकहरु क्षतिग्रस्त हुन गई यातायातका साधन सञ्चालन नहुने अवस्थाले राहत तथा उद्धारको कार्यमासमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो। कठिनाइ भए पनि स्थानीय तह तथा सम्बन्धित तहका जनप्रनितिधिसँग समन्वय गरेर उद्धार र क्षतिको विवरण सङ्कलनको कार्यलाई जारी राखिएको प्रजिअ चेम्जोङले जानकारी दिनुभएको गोरखापत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया