‘नीरफूल’को विशेष प्रदर्शनी

  जेठ ३०, २०८०

काठमाडौँ, ३० जेठ : गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा एमालेका नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो ।

“चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो ।”

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन रु भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल । हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।”

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गर्नुभयो । स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो । “यसमा हाँसो र रोदन दुवै छ । कलाकारले पात्र बाँचेका छन्, गीत–सङ्गीतमा संस्कृति झल्किन्छ । यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ”, उहाँले भन्नुभयो ।

चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिनुभयो । “नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ”, उहाँले भन्नुभयो ।
रासस

तपाईको प्रतिक्रिया