बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

  जेठ २७, २०८०

बर्दिया, २७ जेठ : गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आवमा एक हजार विदेशी पर्यटक आएकामा अहिले छ हजारको हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले उल्लेख गर्नुभयो ।

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको सहायक संरक्षण अधिकृत दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया