चलचित्र क्षेत्रमा देखिएका समस्या सरकारसम्म पुर्याउँछु : मन्त्री लिम्बू

  जेठ २४, २०८०

काठमाडौँ, २४ जेठ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गर्नुभएको छ । जमलस्थित नाचघरमा आज आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उहाँले चलचित्र क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्याउने पुलको काम गर्ने बताउनुभयो ।

“चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सक्दो सहयोग रहनेछ । मलाई सेवक सम्झेर आफ्ना समस्या राख्नलाई आग्रह गर्दछु”, मन्त्री लिम्बूले भन्नुभयो, “हामी भिन्न क्षेत्रमा रहेता पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौँ ।”

महोत्सवको समापन समारोहमा उहाँले विजेतालाई प्रमाणपत्रसमेत प्रदान गर्नुभयो । महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताउनुभयो ।

“हामी तेस्रो संस्करणमा आइपुग्दा झनै बृहतरूपमा अगाडि बढिरहेका छौँ । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । हामीमा देखिएको चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरिरहेको छ”, उहाँले भन्नुभयो ।

महोत्सवको समापन समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्देशक दिनेश राउत, गायक कुलेन्द्र विकलगायत उपस्थित हुनुहुन्थ्यो । (रासस)

तपाईको प्रतिक्रिया