भरतपुर, २२ जेठ : नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको अस्तु विसर्जन गरिएको ठाउँमा आकर्षक बाटिका निर्माण गरिएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गा उहाँहरूको मृत्यु भएको थियो । नेताद्वयको मृत्युपश्चात् चितवनको माडी नगरपालिका–६ लक्ष्मी निवासमा अस्तु विसर्जन गरिएको थियो ।
तत्कालीन जनप्रतिनिधिले मदन–स्मृति वन बाटिका नामकरण गरेर २०५६ सालमा ‘भ्यू टावर’ निमार्ण अगाडि बढाएको बाटिकाका उपाध्यक्ष श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यस बाटिकामा रहेको समीको चौतारोमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विर्सजन गरिएको छ । सोही ठाउँ नजिक कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा शालिकसमेत निर्माण गरियो र उद्यानको नाम समेत पुष्प–मदन स्मृति बाटिका राखियो । बाटिकामा अहिले भौतिक संरचना र सौन्दर्यकरणका काम भइरहेको जनाइएको छ ।
माडी ठोरी हुलाकी सडकअन्तर्गत जनकल्याण माविबाट करिब दुई किलोमिटर दक्षिणतर्फ लागेपछि लक्ष्मी निवाससँगै रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस बाटिकामा पुग्न सकिन्छ । यहाँ फोटो खिच्ने र टिकटक बनाउनेसँगै वनभोज खान र घुमिफिर गरेर मनोरञ्जन लिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाटिकामा निर्माण गरिएको भ्यूटावरबाट माडी उपत्यकाका विभिन्न ठाउँ र भरतपुरको गोलाघाटसम्मका सुन्दर दृष्य देख्न सकिन्छ । वाटिकामा भ्यू टावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको सालिक, वनभोज स्थल र सभाहल रहेको उपाध्यक्ष दवाडीले जानकारी दिनुभयो ।
“पार्कमा फोटो र टिकटक बनाउनका लागि आकर्षक संरचना निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ नेपालसँगै भारतबाट पनि पर्यटक आउने गरेका छन् ।” यहाँ पर्यटकका लागि निःशुल्क खेल मैदान, शौचालय, खानेपानीको सुविधा, व्यायाम गर्नसक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “अब स्काइ चियर तथा पिङमा जहाज राख्ने योजना रहेको बताउँदै”, उपाध्यक्ष दवाडीले भन्नुभयो, “हामीले यो क्षेत्रलाई विकास गर्दा माडी पर्यटकीय हिसाबले निकै अगाडि बढ्छ र स्थानीयलाई रोजगार पनि प्रदान हुन्छ ।” अब स्काइ चियर तथा पिङमा जहाज राखेर दुई जनालाई रोजगार दिने तयारीमा छौँ ।”
माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले दैनिक एक सय पर्यटक बाटिका घुम्न आउने गरेको बताउनुभयो । बिदाको दिनमा भने धेरैनै पर्यटक आउने बताउँदै उहाँले भन्नुभयो, “मदन–आश्रितको स्मृतिमा स्थापित बाटिकालाई थप व्यवस्थित बनाउँदै होम स्टेसँग जोडेर अगाडि बढाउने हाम्रो योजना छ ।”
रासस