‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल

  जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पु-याएका छन् ।

यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिनुभयो ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।”

समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताउनुभयो । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गर्नुभएका उहाँले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताउनुभयो ।

“समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु”, निर्देशक वलले भन्नुभयो, “नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।”

चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।”

उहाँले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताउनुभयो । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उहाँको भनाइ थियो ।

हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिनुभयो । “हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौं”, निर्देशक वलले भन्नुभयो ।

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।”
रासस

तपाईको प्रतिक्रिया